• ७ मंसिर २०८१, शुक्रबार

एशिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपाको प्रतिनिधित्व

blog

तस्बिर : राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौँ, कात्तिक २७ गते । कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एशिया प्यासिफिक डेमोक्रयाट युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचित भएको छ । अस्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा.गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अस्ट्रेलियाको लिबरल पार्टीका नेता जोश मनुआतुलाई महासचिवमा निर्वाचित गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एशिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरु सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व छ । तत्कालीन राप्रपा नेपाल युनियनमा अस्थायी सदस्यको रुपमा थियो, राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि युनियनको पूर्ण सदस्यको रुपमा प्रतिनिधित्व हुँदै आएको छ ।

यसअघि युनियनमा श्रीलङ्काका पूर्व प्रधानमन्त्री रणिल विक्रमसिंघे अध्यक्षको रुपमा रहनुभएको थियो । अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भारतीय जनता पार्टी(भाजपा), अस्ट्रेलियाको लिबरल पार्टी, नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत सदस्य रहेको युनियनमा क्यानडा, बङ्गलादेश, चिली, एल साल्भाडोर, इण्डोनेसिया, जापान, न्युजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्याण्ड, पपुवान्युगिनी, फिजी, आर्मेनिया र ताइवानका विभिन्न कन्जरभेटिभ दलहरु सदस्य छन् ।

कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एपिडियुको नेतृत्व तहमा राप्रपा पुग्नु महत्त्वपूर्ण उपलब्धि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभएको छ । नवनिर्वाचित उपाध्यक्ष डा.गीताभक्त जोशीलाई पार्टी कार्यालयमा सम्मान गरिएको छ । अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय रुपमा पार्टीले प्राप्त गरेको सफलताप्रति प्रसन्नता व्यक्त गर्नुहुँदै डा.जोशीलाई सम्मान गर्नुभएको छ ।