• १० मंसिर २०८१, सोमबार

कमला नदीको व्यथा : बाँसको खम्बा र प्लाइउड सहारा

blog

जनकपुर समाचारदाता

जनकपुर, कात्तिक २७ गते । कमला नदीमा बाँसको खम्बा र प्लाइउड ठोकेर पुल बनाएको छ । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत कमला नदी तर्न बनाइएको बाँसको खम्बा र प्लाइउडको पुलबाट दैनिक करिब एक हजार मानिसले ओहोरदोहोर गरिरहेका छन् । नदीमा ठुलो पानी बगिरहेकाले मोटरसाइकल, साइकल र पैदल यात्रुका लागि सो पुल तर्न निकै सहज र सरल पनि भएको छ ।  

यसरी बनाइएको पुल धेरै लामो समय टिकाउ हुने खालको भने छैन । सानो बाढीले मात्र पनि पुल बगाउन सक्ने जोखिम भने देखिन्छ ।  सिराहा र धनुषाको सीमामा रहेको कमला नदीको सिराहातर्फ पूर्वी भागमा सिराहा नगरपालिकाले बनाएको सो अस्थायी पुलबाट नदी तर्दा मोटरसाइकलचालकसँग भने २० रुपियाँ शुल्क लिने गरिएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् । नदीको दुई वटा भँगालोमा पानी बगिरहेको छ । जसमध्ये पूर्वपट्टिको भँगालोमा बढी पानीको बहाब र पश्चिमपट्टिको भँगालोमा कम पानी बगिरहेको छ । 

यो अस्थायी पुल वडा कार्यालयमार्फत निर्माण गरिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्थायी पुलबाट व्यवस्थित रूपमा मानिस ओहोरदोहोर गर्न गराउन नगपालिकाकै चार जना कर्मचारी खटाएका छौँ ।” करिब दुई लाख रुपियाँ लागतमा निर्माण गरिएको  पुलबाट दैनिक दुई सय वटाभन्दा बढी मोटरसाइकल वारपार भइरहेको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलचालकबाट उठाइएको रकमबाट पुलको सामान्य मर्मत खर्च उठाउने योजना वडा कार्यालयको रहेको छ ।   

पुल निर्माणका लागि बाँस, मोटो प्लाई, मजदुरी, डोरी खरिदमा करिब दुई लाख रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो । उहाँले अस्थायी पुल दैनिक जस्तै मर्मत गर्नु परिरहेको बताउनुभयो ।  

विगतका वर्षमा स्थानीयले यस्तै बाँसको खम्बा र प्लाई राखेर पुल बनाएर प्रतिमोटरसाइकल ५० रुपियाँ लिने गरेका थिए । वर्षायाममा कमला नदीको बिच भागको करिब ५० मिटर चौडाइमा करिब चार/पाँच फिट पानी बगिरहेको थियो । त्यसबेला पैदल, मोटरसाइकल, साइकलबाट यात्रा गर्नेहरू पैसा तिरेर डुङ्गा चढेर वारपार गर्नु परेको थियो । प्रतिमोटरसाइकल तार्न एक सय रुपियाँ र प्रतिसाइकल तार्न २० रुपियाँ एवं मानिस मात्र तार्न १०/२० रुपियाँ लिने गरिएको थियो । 

नगरपालिकाले बनाइदिएको अस्थायी पुलबाट तर्न न्यून सेवा शुल्कले सबैलाई सहज भएको पुल तर्दै गरेका सन्तोष साहले बताउनुभयो । नगपालिकाले न्यून सेवा शुल्क लिएर सञ्चालनमा ल्याएको यस अस्थायी पुललाई निजीरूरुपमा सञ्चालन गर्दै आएका स्थानीयले बेला बेला क्षति पु¥याउँदै आएको नगरपालिकाले जनाएको छ । 

कमलामा स्थायी पुल नबनेका कारण हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरसम्मको दुरी करिब ९० किलोमिटर छ ।  दुईपाङ्ग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ । ठुलो र चारपाङ्ग्रे सवारी पूर्वपश्चिम राजमार्ग भएर १३० किलोमिटर बाटो तय गरेर जनकपुर पुग्नु परिरहेको चारपाङ्ग्रे सवारीधनी मनोज दासले बताउनुभयो ।      

कमला नदीको यस खण्डमा विगत १३ वर्षदेखि पुल निर्माण भइरहेको छ तर निर्माण पूरा भएर कहिले सञ्चालन हुन्छ भन्ने टुङ्गो छैन । कमला नदीमा बन्दै गरेको पुल भासिएपछि निर्माण कार्य पेचिलो बन्दै गएको छ । भासिएको स्थानमा पुल निर्माण कार्य भइरहेको छ ।