• ७ मंसिर २०८१, शुक्रबार

कांग्रेस सभापति देउवाद्वारा परशुराम धामको दर्शन, अधुरा योजना निर्माण गरिने

blog

परशुराम धाम मन्दिरमा बाबा परशुरामको दर्शनका लागि पुग्नु भएका कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर : गोरखापत्र

पुस्कर भण्डारी 

डडेल्धुरा, कात्तिक २६ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गर्नुभएको छ । सोमबार परशुराम धाममा पुगेर उहाँले यहाँका अधुरा योजना सम्पन्न गरिने बताउनुभयो । 

रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा नं. ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले बताउनुभयो । 

देउवा एक साता लामो बसाइका लागि सोमबार गृह जिल्ला डडेलधुरा आइपुग्नु भएको हो । काठमाडौँबाट आइतबार धनगढी आइपुग्नु भएका देउवा साँझ डोटीको बुडर पुगेर बस्नु भएको थियो ।

बुडरबाट सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकन पछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो । 

भेटघाटका कार्यक्रमसँगै उहाँले परशुराम धाममा पुगेर दर्शन गर्नुभएको हो । नेपालका चार वटा धाम मध्येको एक परशुराम धाममा पुगेर देउवाले यस क्षेत्रको विकासका लागि सधैँ लागि परेको बताउनुभयो ।

डडेलधुरा प्राकृतिक रूपमा रमणीय जिल्ला भएको र थुप्रै धार्मिक स्थल, शक्तिपिठ भएको जिल्ला पनि भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उहाँले बताउनुभयो । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उहाँको भनाई थियो । 

परशुराम धामको विकासका लागि गुरु योजना बनाई केही वर्ष यता राम्रो बजेट विनियोजन भएर बाबा परशुरामको मूर्ति निर्माणसँगै मन्दिरहरू, धर्मशाला, सडक बाटोलगायतका पूर्वाधारहरू निर्माण भएकाले दशर्नार्थीहरुलाई सहज हुँदै गएको उहाँले बताउनुभयो । 

परशुराम धामलाई पारि तर्फ रहेको भारतको माँ पूर्णागिरिको मन्दिरसँग जोड्न धाम नजिकै भारत सरकारे पक्की मोटरेवल पुल निर्माणको काम अघि बढाएको उहाँले बताउनुभयो । पुल र सडक बाटो वनेसँगै धार्मिक गतिविधिसँगै स्थानीयलाई सहज हुने उहाँको भनाई छ ।

महाकाली कोरिडोर परशुराम धामलाई छोएर बनाउने योजना अनुसार अहिले सडक निर्माणको काम धमाधम भइरहेकोले यसले पनि दीर्घकालीन रूपमा सहजता प्रदान गर्ने उहाँले बताउनुभयो ।  

उहाँले लाढुंगा बजारमा रहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने उल्लेख गर्नुभयो । ५० शय्याको अस्पतालमा स्तरोन्नति भइरहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालमा गाभेर पूर्वाधारसहित विशेषज्ञ सेवा सञ्चालन गरिने बताउनुभयो । 

बुडरबाट जोगबुडा जाने सडक बाटो भएकाले हिजो राति बुडर नै बसेको सभापति साउदले जानकारी दिनुभयो । भित्रिमधेश जोगबुडा महाभारत पर्वत र चुरे पर्वतको संगमस्थल क्षेत्र हो । परशुराम नगरपालिका कञ्चनपुर र भारतसँग सीमा जोडिएको छ । चुरेको सम्म परेको भूभाग उर्वर भएका कारण जिल्लाको झण्डै आधा जनसङ्ख्या जोगबुडा क्षेत्रमा छ । 

देउवा भित्रिमधेश जोगबुडा क्षेत्रको भ्रमण, भेटघाटका कार्यक्रम सकाएर सोमबार बेलुकी जिल्ला सदरमुकाम आउने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराका सह सचिव गोविन्द बोहराले जानकारी दिनुभयो । उहाँ भोली मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सरिक हुने उहाँले बताउनुभयो ।

बडाल जाँत दाइन दमाहा, भोकर, रुईसिँग बाजाको धुनमा हातमा नाङ्गो तलवार खेलाउँदै खेलिने छाला (नाच) चौलोले प्रसिद्ध छ । बडाल उनको गृह पालिका गन्यापधुरा गाउँपालिका-२ मा पर्छ । 

बुधबार कात्तिक २८ गते कांग्रेस डडेलधुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका-१ रुवाखोलामा र मङ्सिर १ गते उग्रतारा मेला (देहिजाँत) जाने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । देउवा मङ्सिर २ गते सङ्घीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ ।