• ८ मंसिर २०८१, शनिबार

मुस्ताङमा चार महिनामा डेढ लाख पर्यटक भित्रिए

blog

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शन गरेर फर्किँदै गरेका पर्यटकहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक २६ गते । हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो चार महिनाको अवधिमा करिब डेढ लाख पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको अन्तिमसम्म स्वदेशी र विदेशी गरेर एक लाख ४१ हजार ४७  पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । ती मध्य एक लाख ५ हजार ९ सय ९९ स्वदेशी र ३५ हजार ४८ विदेशी पर्यटक मुस्ताङ पुगेका छन् ।   

दसैँदेखि यता मात्र १३ हजार सातसय २६ विदेशी र ७० हजार चार सय २१ आन्तरिक गरी ८४ हजार एकसय ४७ पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार साना ठुला गरेर यो अवधिमा १८ हजार तीनसय ४५ सवारीसाधन मुस्ताङ भित्रिए । प्रहरी कार्यालयले घाँसामा सडक मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ । प्रहरीका अनुसार यो अवधिमा स्वदेशी र विदेशी गरेर १५ सय ३८ पर्यटक हवाई मार्ग हुँदै मुस्ताङ पुगेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले विदेशी पर्यटनको तथ्याङ्क राख्ने गर्दछ । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक,म्याग्दी हुँदै सवारी साधन मार्फत र हवाई मार्गबाट मुस्ताङ पुग्ने पर्यटकको तथ्याङ्क राखिने कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो अवधिमा सार्क मुलुकबाट २४ हजार ३ सय ८६ र अन्य मुलुकबाट १० हजार ६ सय ६२ पर्यटक मुस्ताङ भित्रिएका छन् । 

यसपालि मुस्ताङ भित्रिएका अधिकांश पर्यटकहरू माथिल्लो मुस्ताङ स्थित चीनको सिमानामा रहेको कोरला नाका पुगेका छन् । कोरला नाकामा दसैँ देखि नै आन्तरिक पर्यटकको निकै भिडभाड भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘लोमन्थाङ र चीनको सिमानामा रहेको कोरला नाकाको अवलोकनका लागि अघिल्लो वर्ष भन्दा यसपालि पाँचगुणा भन्दा धेरै पर्यटकहरू आए । दसैँ देखि अहिले सम्म लोमन्थाङका सबै होटलहरु पर्यटकले भरिभराउ भएका छन् । पर्यटक आगमन बढेसँगै होटल व्यवसायीहरू उत्साहित भएका छन् ।’’

हिमाली हावापानी,उजाड पहाड,थकाली मौलिक कला संस्कृति,जीवनशैली,विभिन्न ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, ढुम्बा ताल, मार्फा, ऐतिहासिक बस्ती लोमन्थाङ, ठिनी र पुराना ऐतिहासिक गुफाहरू मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू हुन् । 

प्राचीन तिब्बती कलासंस्कृति झल्किने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, पृथक् भूगोल, कालिगण्डकी नदीको मनमोहक भूगोल, हिमाली दृश्यावलोकन, तालतलैया र गुफाले पर्यटक तानिरहेका छन् । पछिल्लो समय सबै भन्दा उचाइमा रहेको मनाङको तिलिचो ताल भ्रमणका लागि पनि मुस्ताङ हुँदै पर्यटक पुग्न थालेका छन् ।  म्याग्दी हुँदै सडक मार्ग, थोराङ्ला पास हुँदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । 

मुस्ताङमा पर्यटक बढ्नुमा यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिनु, डिजिटल मार्केटिङ र सुविधायुक्त होटल खुल्नु लगायतका कारण भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख रेग्मीको भनाई छ । साना ठुला गरी मुस्ताङमा तीनसय २५ होटलहरु सञ्चालित छन् ।