• ७ मंसिर २०८१, शुक्रबार

नौबस्ता सुधार गृहबाट तीन बाल बिज्याइँकर्ता भागे

blog

बाँकेको बैजनाथ ३ मा रहेको नौबस्ता बाल सुधार गृहको प्रशासनिक भवन । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २६ गते । बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याइँकर्ताहरु भागेको बताउनुभयो । 

“नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिज्याइँकर्ता थिए । उनीहरुलाई छुट्टाछुट्टै ब्लकमा राखिएको थियो, एउटा ब्लकमा २५ जना थिए, २५ जना बाल बिज्याइँकर्तामध्ये तीन जना भागेका छन्,” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “हिजो बेलुका गणना गर्दा सबै बाल बिज्याइँकर्ता थिए, आज बिहान गणना गर्दा तीन जना भागेको पाइयो ।”

प्रहरी उपरीक्षक कार्कीले उनीहरु रातिको समयमा भागेको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार बाल सुधार गृहबाट भाग्नेमा एक जना बाँके, एक जना दाङ र एक जना प्युठानका बाल बिज्याइँकर्ता छन् ।

भागेका बाल बिज्याँकर्ताहरुको खोजीमा जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटहरु, सशस्त्र प्रहरी लगायतका सबै सुरक्षा निकायलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । 

“भागेकाहरुको खोजीमा जिल्लास्थित सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ, सम्भावित प्रहरी युनिटहरुमा पत्राचार समेत भएको छ,” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “के कारणले गर्दा उनीहरु भागेका हुन् भन्ने सम्बन्धमा अनुसन्धान सुरु गरेका छौँ ।”

नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरिकै कारागारमा कैदी बन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । सोही क्षेत्रीय कारागारभित्र रहने गरी नौबस्ता बाल सुधार गृह सञ्चालनमा छ ।