• २२ मंसिर २०८१, शनिबार

पर्यटक आकर्षित गर्ने योजना

blog

बुटवल समाचारदाता 

बुटवल, कात्तिक २६ गते । लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ । 

तालको विकासका लागि यो वर्ष एक करोड रुपियाँ प्रदेश सरकारले लगानी गर्ने र ५० लाख रुपियाँ गैडहवा गाउँपालिकाको सहयोगमा ताल क्षेत्रमै होमस्टे सञ्चालन गर्ने तथा पर्यटक आकर्षित गर्न तालमा डुङ्गा चलाउने योजना रहेको छ । 

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन नवप्रवर्तन कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । उहाँले प्रदेश सरकारले रुपन्देहीका १६ पालिकामध्ये यो वर्ष गैँडहवा गाउँपालिकालाई मात्रै नवप्रवर्तन कार्यक्रममा जोडेको बताउनुभयो । 

उहाँले नवप्रवर्तन कार्यक्रममार्फत जिल्लाकै ठुलो तालको विकास गर्ने र लुम्बिनीमा आउने पर्यटकलाई तालसम्म ल्याउने योजना रहेको बताउनुभयो । गैँडहवा गाउँपालिका–४ मा रहेको जिल्लाकै ठुलो गैँडहवा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

गत वर्ष नेपाली सेनाले लुम्बिनी प्रदेश सरकार र गैँडहवा गाउँपालिकाको सहयोगमा तालको पुनर्निर्माण गरिएको थियो । उहाँले ताल घुमाउन विदेशका पर्यटकलाई समेत ल्याउन सके मात्र यो तालले अन्तर्राष्ट्रिय रूपमा प्रचार पाउने र तालको विकासमा टेवा पुग्ने बताउनुभयो । पालिकाले लुम्बिनीदेखि १२ किलोमिटर उत्तरमा अवस्थित यो तालमा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने जनाएको छ । 

गैँडहवा गाउँपालिकाका प्रवक्ता सुरेन्द्रसिंह कुर्मीले गैँडहवा ताल जिल्लाकै सबैभन्दा ठुलो ताल रहेको बताउँदै लुम्बिनी आउने पर्यटकलाई यो ताल घुमाउन ल्याउन सक्ने हो भने तालले अन्तर्राष्ट्रिय प्रचार प्राप्त गर्ने बताउनुभयो । ८४ बिघा क्षेत्रफलमा फैलिएको यो तालमा तालमा साइबेरियाली, सारस र बकुल्ला, चिरई, भँगेरा, ढुकुर, चित्रेलगायत प्रजातिका चराको वासस्थान रहेको छ । 

स्थानीय भगत यादवका अनुसार तालमा साइबेरियालगायत टाढा टाढादेखि विभिन्न प्रजातिका चरा जाडोयाममा आउने र गर्मी लागेपछि फर्केर जाने गर्छन् । हिमाली क्षेत्रमा जाडो बढ्न थालेपछि गैँडहवा तालमा चरा आगमनमा वृद्धि हुन्छ भने ती चरा तराईमा गर्मी नहुन्जेल बस्ने गर्छन् ।  

तालमा अहिले पनि विभिन्न स्थानीय ५० प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको छ । ताल वरिपरिको क्षेत्रमा बोट प्लेटफर्म निर्माण, ताल गहिरो बनाउने, तालको चारैतर्फ ट्र्याक चौडा बनाउने, चारैतिर ग्राभेलिङ भएको छ ।  

कञ्चन गाउँपालिकाबाट ताल घुम्न आएका रमेश आचार्यले ताल किनारको सरसफाइमा ध्यान दिने र तालमा आउने चराचुरुङ्गीलाई आहाराको समेत व्यवस्था गर्ने हो भने ताल सिमसार क्षेत्र बन्ने बताउनुभयो ।