• ७ मंसिर २०८१, शुक्रबार

सिमसार क्षेत्रका रूपमा विकास हुँदै राजापानी

blog

राजापानी सामुदायिक वनको सिमसार क्षेत्र । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता 

बुटवल, कात्तिक २५ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका सिमसार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रदेशमा रहेका तालतलैया तथा ऐतिहासिक पुराना प्राकृतिक पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । 

जस अनुसार अहिले रुपन्देहीको राजापानी सिमसार क्षेत्रलाई बजेट उपलब्ध गराएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको राजापानी सामुदायिक वन क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले ३० लाख रुपियाँ उपलब्ध गराएको छ । राजापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर सेनले राजापानी क्षेत्रको पानी बग्ने र ताल परेको क्षेत्रलाई सिमसार क्षेत्र बनाउने तयारी अन्तर्गत प्रदेश सरकारले ३० लाख रुपियाँ सहयोग गरेको बताउनुभयो । 

बाहै्र महिना पानी बग्ने चिस्यान क्षेत्र भएकाले जर्लैयाको राजापानी क्षेत्रलाई सिमसार क्षेत्र बनाउन वन समूहसँगै सैनामैना नगरपालिकाले समेत काम गरिरहेको छ । सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्माले राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारसँगै सैनामैना नगरपालिकाले समेत सहयोग र सहकार्य गर्ने बताउनुभयो । 

सैनामैना नगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामप्रसाद भुसालले राजापानी सामुदायिक वन क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारका साथै सैनामैना नगरपालिकाले पहल गरेर बजेट विनियोजन गरेको भन्दै अब राजापानी सामुदायिक वन सिमसार क्षेत्रका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । 

वन संरक्षण नहुँदा उजाड बनेको राजापानी सामुदायिक क्षेत्र स्थानीयले संरक्षण गर्न थालेपछि हरियाली बनेको र वनको बिच भागमा रहेको जर्लैया नदीबाट बाह्रै महिना पानी बग्ने गरेको बताउनुभयो । सुनसान, एकान्त र जङ्गलको बिच भागमा रहेको यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न राजापानी वनलाई सिमसार क्षेत्र बनाउनुपर्ने प्रस्ताव राजापानी सामुदायिक वनले गर्दै आएको थियो । 

सामुदायिक वनले संरक्षण गर्न थालेपछि वन जोगिएको मात्र होइन, पहिले सुकेको खोलामा समेत अहिले बाह्रै महिना पानी बग्ने र कहिल्यै नसुक्ने भएकाले यो क्षेत्रलाई सिमसार क्षेत्र बनाउन सकिने सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको भनाइ छ । एसियाली विकास बैङ्कले समेत यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले पानी भएको भागलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न अध्ययन गरिरहेको छ । राजापानी सिमसार क्षेत्रमा गुफा पनि रहेकाले यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।