• ७ मंसिर २०८१, शुक्रबार

समाज सुधारक महागुरुको स्मरण

blog

पिता जगनबाज लिम्बू लिङ्देन र माता हङ्समती बेघा लिङ्देनको पुत्रको रूपमा विक्रम संवत् १९४२ साल कात्तिक २५ गते ( सन् १८८५, नोभेम्बर १० तारिख) इलाम जिल्ला, माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ, चुक्चिनाम्बामा महागुरु फाल्गुनन्दको जन्म भएको थियो । यिनको न्वारनको नाम नरधोज लिङ्देन थियो । उनीभन्दा अघि जन्मिएका सन्तान झैँ यिनले मृत्यु वरण गर्न नपरोस् भनेर यिनका बाबुआमाले यिनको हातमा फलामका चुरा र कल्ली लगाइ दिएका थिए । त्यसपछि यिनलाई फलाम सिंह भनेर नामकरण गरियो । उनी जोसमनी पथमा लागेपछि उनले धार्मिक नाम फाल्गुनन्द ग्रहण गरे । 

उनको समयमा चन्द्रशमशेर राणा, भीमशमशेर राणा, जुद्धशमशेर राणा र पद्मशमशेर राणा श्री ३ महारज तथा प्रधानमन्त्री थिए । त्यसबेला श्री ५ महाराज नाममात्रका राजा थिए । वास्तविक शक्ति श्री ३ मा नै थियो । उनीहरू जनताका शिक्षा, स्वास्थ, रोजगारीका सवालमा कुनै चासो राख्दैनथे । जनता अशिक्षित थिए । उनीहरूको आर्थिक अवस्था ज्यादै दयनीय थियो । उनीहरू सामान्य रोगका उपचार पनि प्राप्त गर्न सक्दैनथे । रोजगारीको अवसरको एउटै ढोका गोरखा भर्ती थियो । चन्द्रशमशेरले दास प्रथा र सती प्रथा उन्मूलन गरेको भए पनि जातीय प्रथा व्याप्त थियो । 

त्यसमा पनि लिम्बूहरू पूरै निरक्षर थिए । उनीहरूमा पढ्नु लेख्नु पर्छ भन्ने चेतनासमेत थिएन । उनीहरूको जीविकोपार्जनको एक मात्र उपाय कृषि थियो । कृषिबाट उनीहरूले आफूलाई सालभरि खान पुग्ने बाली उत्पादन गर्न पनि सक्दैनथे । उनीहरू कोदो, मकैलगायतका अन्नबाट जाँड र रक्सी बनाउँथे र पिउने गर्थे । छाक टार्ने अन्नलाई जाँडरक्सी निर्माणमा दुरुपयोग गरेर अनिकालको सिकार बन्थे । अनिकालबाट बच्न चर्को ब्याजमा ऋण लिन्थे । अन्त्यमा ऋण तिर्न नसकेर आफ्नो घरबारी साहुलाई बुझाउन बाध्य हुन्थे । उनीहरूको संस्कार पनि ज्यादै खर्चिलो थियो । विभिन्न देवीदेवताको पूजामा कुखुरा, सुँगुरदेखि राँगासम्म बलि चढाउनु पर्ने, जाँडरक्सीको ज्यादा प्रयोग हुने, जन्म, मृत्यु, विवाह आदिमा अत्यधिक जाँडरक्सीको प्रयोग हुने, सुँगुर राँगा आदि काट्नु पर्ने भएकाले यो समुदायका व्यक्ति कहिले पनि ऋणबाट मुक्त हुन सकेका थिएनन् । वास्तवमा त्यस बेलाका व्यक्तिहरू ऋणमा नै जन्मिन्थे र ऋणमा नै मर्थे ।

फलाम सिंह आठ वर्षको हुँदा गम्भीर रूपमा बिमारी भए । बिमारी भएर लडेको चौथो दिन साँझ उनलाई एक दिव्य पुरुष लिन आए । त्यसपछि उनी ती पुरुषको पछिपछि लागे र लोप भए । उनका रुँगालोहरूले ती पुरुषलाई देखेनन् । ती पुरुषले उनलाई माइखोलामा नुहाउन लगाए । उनले आफ्नो बाबुका निम्ति बोकेको सातुसामलभित्र मासु राखेर खोलो तरेको हुनाले उनलाई माफ माग्न लगाए । त्यसपछि उनको जिउभरि निस्किएको फोका हराए र ज्वरो निको भयो । ती पुरुष हराए । त्यसपछि आकाशतिरबाट मुन्धुमका सुनौला अक्षर क्रमैसँग उनको मुखभित्र पस्न थाले । दैवी शक्ति उनमा भएकाले मुन्धुमका मन्त्र लेखिएका ती अक्षर उनले सजिलै पढ्न र बुझ्न सके । त्यत्तिकैमा खोलाको बिचबाट गरगहनाले सुसज्जित युमा साम्माङ, प्रकट भइन् । उनले उनलाई हत्या हिंसा नगर्नु, झुटो नबोल्नु, नारीजाति सृष्टिकर्ता हुनाले उनीहरूलाई सम्मान गर्नु, आफ्नो कुल देवतालाई सदा बिहान बेलुका पूजा आराधना गर्नु, मासु मंस, जाँडरक्सी नखानु, आफ्नो भाषा लिपि, संस्कार तथा मुन्धुमको संरक्षण र विकास गर्नु, शिक्षाको ज्योति फैलाउनु भन्दै भविष्यमा ‘तपस्वी गुरु/महागुरु हुन्छौ’ भनी आशीर्वाद दिइन् र लोप भइन् । 

फलाम सिंह चरम गरिबीमा हुर्केका थिए । कृषिबाट मात्र जीविका चल्न गाह्रो भयो । आयआर्जनको निमित्त उनी ब्रिटिस सेनामा भर्ती भए । उनी सानैदेखि जाँडरक्सी, माछामासु आदि खाँदैनथे । उनी हत्या हिंसा रुचाउँदैनथे । प्रथम विश्वमा लडाइँ लड्दा उनले रक्तपूर्ण नरसंहार देखे । यसले उनलाई ज्यादै दुःखित बनायो । उनको शान्तिकामी हृदयले यसलाई सहन गर्न सकेन । दैनिक नुहाएर ध्यान गर्ने उनको बानी थियो । उनी शाकाहारी भोजन र फलफूल खान्थे । उनको यो स्वभाव सिपाही जागिरसँग मिलेन । त्यसैले उनी जागिरबाट नाम कटाएर निस्किए । 

सन्त जोसमनीले सतिप्रथा, दासप्रथा, जातीय प्रथा, लैङ्गिक असमानता, अन्धविश्वास आदिका विरुद्ध नयाँ मार्गको सुरुवात गरेका थिए । त्यसबेला हरिश्चन्द्र, हरिभक्त, धिरद्जी र शशीधर जस्ता सन्तहरूले उनले देखाएको धार्मिक पथलाई अनुसरण गरी व्यापक रूपमा यसको प्रचार गरिरहेका थिए । यिनीहरूमध्ये सन् १८०४ मा जन्मिएका सन्त शशीधर अति प्रभावशाली थिए । उनले सबै प्रकारका भौतिक सुखसुविधा त्यागेर निरन्तर रूपमा समाजमा व्याप्त जातीय तथा लैङ्गिक भेदभाव, सामाजिक कुरीति, विकृतिविरुद्ध आवाज उठाइरहे । फलाम सिंह यिनै जोसमनी पन्थीहरूको विचारबाट प्रभावित भए । त्यसपछि सन् १९१३ मा जोसमनी पन्थका गुरुद्वारा उनको नाम फाल्गुनन्द राखियो । किराँत धर्मालम्बीहरू उनलाई लिम्बू जातिका महान गुरुहरू येहाङ, लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ र सिरिजङ्गापछिका महान गुरु वा अङ्सि माङ मान्छन् । उनले करिब ६० वटा किराँत मुन्धुम ग्रन्थ तयार पारेकाले उनलाई किराँत मुन्धुम (धर्म शास्त्र) को स्रोत मानिन्छ । 

उनले समाजमा व्याप्त सामाजिक तथा धार्मिक कुरीति र तिनीहरूका परिणामस्वरूप समुदायले भोग्नु परेका चरम गरिबी र अशिक्षाविरुद्ध चेतनाको ज्योति फैलाउने कार्यमा अग्रसर भए । उनले १९८८ साल वैशाख २५ गते तत्कालीन १० लिम्बुवानका १० लिम्बू प्रतिनिधिलाई पाँचथरको चोक्मागुस्थित लब्रेकुटीमा आमन्त्रण गरेर सत्यधर्म मुचुल्कामा हस्ताक्षर गराएका थिए । त्यसमा मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिइनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको सट्टा फलफूल प्रयोग गरीनुपर्ने, बिहेबारी गर्दा रीतिको रूपमा रुपियाँ, सुनचाँदी आदि र कोसेलीको रूपमा जाँडरक्सी, सुँगुर लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुलगायतका कुरा उल्लेख थिए । यी प्रतिनिधिले आआफ्नो क्षेत्रमा यी कुराको प्रचार गरे । 

उनले साँझ बिहान आआफ्नो घरमा युमा साम्माङ (बजु देवी) को ‘माङसेवा’ (प्रार्थना) गर्न आफ्ना शिष्यहरूलाई सुझाए र सामूहिक रूपमा ‘माङ सेवा’ गर्नका लागि मेची र कोशी अञ्चलका विभिन्न स्थानमा सात वटा माङहिम (मन्दिर) बनाए । उनले कुम्भकर्ण हिमाललाई किराँतीहरूको पवित्र तिर्थ स्थल मान्दै त्यसको फेदीमा एक ‘माङहिम’ बनाए ।

उनले समाजमा ल्याएको जनचेतनालाई देख्न नसक्ने केही तत्वहरूले उनको विरुद्ध ‘आफू राजा हुन विद्रोह गर्दै छ’ भनेर उजुरी दिए । फलस्वरूप विसं १९९० र विसं १९९५ मा उनलाई राजद्रोहको मुद्दा लगाई श्री ३ जुद्धशमशेरसमक्ष हाजिर गराइयो । उनी राजद्रोही नभएको र सन्त महात्मा भएको प्रमाणित भएपछि उनले त्यो मुद्दाबाट उन्मुक्ति पाए । विसं २००५ चैत २२ गते सोमबारका दिन पाँचथरको याम्बोङ, हाङयकमा उनको मृत्यु भयो ।

महागुरु फाल्गुनन्दले लिम्बू भाषामा सिरिजङ्गा लिपिमा लिम्बू मुन्धुमलाई लेखेर र लेख्न लगाएर लिम्बू भाषा र लिपिको संरक्षण र विकासमा अतुलनीय योगदान पु¥याएका छन् । उनका अनुयायी सत्यहाङमा पन्थका पुजारीले पाठपूजा गर्दा सिरिजङ्गा लिपिमा लेखिएको लिम्बू भाषामा मन्त्र उच्चारण गर्छन् र तिनै लिपि र भाषामा लेखिएका विधि हेर्दै पूजा गर्छन् । पूजा सम्पन्न गर्ने पुजारी बन्न भाषा र लिपिका ज्ञान हुन जरुरी छ । यसका लागि शिक्षाको आवश्यकता पर्छ । यसरी समुदायका सदस्यलाई शिक्षा आर्जन गर्ने तर्फ उनले प्रेरित गरेका छन् । यस पथमा लाग्नेहरूलाई मद्यपान र धूमपान गर्न नहुने र माछामासु खान नहुने भनिएकाले अधिक मात्रामा धूमपान र मद्यपानका कुलतमा फसेकाहरू कुलतबाट मुक्त भएका छन् भने कुलतमा फस्ने जोखिममा परेकाहरू समेत त्यसबाट बचेका छन् । परम्परागत रूपमा फेदाङमा (धामी), येबा (विजुवा), साम्वा (पुरोहित) आदिले गर्ने पाठपूजामा जीवजन्तु बलि दिनुपर्ने र अत्यधिक जाँडरक्सीको प्रयोग हुने हुनाले ज्यादै खर्च हुने तर सत्यहाङमा पथका पूजा फलफूल, घिउ, नैवेद आदिले सम्पन्न हुने हुनाले उनीहरूमाथि पर्ने आर्थिक भार पनि कम भएको छ । यी कारणले गर्दा उनका अनुयायायीको सङ्ख्या देशविदेशमा दिनानुदिन बढ्दै गइरहेको छ । 

नेपाल सरकारले क्रमिक रूपमा उनको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै आएको छ । उसले विसं २०५० मा उनको नाममा सम्मान स्वरूप १५ रुपियाँ मूल्यको हुलाक टिकट प्रकाशन ग¥यो । सरकारद्वारा उनलाई विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो । उनको सम्मानमा पाँचथरमा गाउँपालिकाको नाम नै फाल्गुनन्द गाउँपालिका राखिएको छ । झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ । प्राथमिक कक्षामा उनको जीवनी भएको पाठ समावेश गरिएको छ । उनकै प्रेरणास्वरूप देशभरिमा १५० ओटा माङ्हिम निर्माण भएका छन् । विसं २०७२ मा नेपाल सरकारले फाल्गुनन्द जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय ग¥यो र त्यो अहिलेसम्म कायम नै छ । अद्वितीय महापुरुष महागुरु फाल्गुन्दप्रति सम्मान पूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु ।

  

Author

डा. गोविन्दबहादुर तुम्बाहाङ