• २८ पुस २०८१, आइतबार

सहुलियत पसलको कारोबार बढ्यो

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २५ गते । चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्ष सञ्चालन गरेका चाडपर्वलक्षित सहुलियत मूल्य पसलबाट सात करोड बराबरको कारोबार भएको र यस वर्ष साढे सात करोड बराबरको कारोबार गरेको जनाएको छ । कर्पोरेसनले गत असोज ७ गतेदेखि कात्तिक २१ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका आफ्ना बिक्री कक्षबाट चिनी, नुन, खानेतेल, चिउरा, आँटा र दालसहितका खाद्यवस्तु छुटमा बिक्री गर्दै आएको जानकारी दिनुभयो । 

कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो । ती पसलमा चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट दिएको थियो । कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी सहित ११  वटा बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै आएको थियो ।