• १२ पुस २०८१, शुक्रबार

रोजगारी अवसर उपलब्ध गराउन स्टार्टअप कार्यक्रम

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सतिश सिंह ।

कन्हैयालाल केसरी 

पर्सा, कात्तिक २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेस प्रदेश तथा मुलुकको अन्य ठाउँबाट बर्सेनि ठुलो सङ्ख्यामा युवाहरू रोजगारीका लागि पलायन हुने गरे पनि स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सहयोगी हुने बताउनुभएको छ । 

मुख्यमन्त्री सिंहले शनिबार वीरगन्जमा मधेस प्रदेश उद्योग वाणिज्य सङ्घ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको स्टार्टअप यद्यपि (आन्टरपेनर्स) सम्मेलन २०२४ को उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

सङ्घीय सरकारले ल्याएको स्टार्टअप कार्यक्रम समय सान्दर्भिक रहेको र यसले  कामको खोजीमा बिदेसिने युवालाई केही हदसम्म रोजगारीका अवसर स्वदेशमा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले यस्ता कार्यक्रममा सबैको साथ र सहयोगमा सफल हुने भएकाले मुलुकका उद्योगी व्यापारीहरूको पनि महत्त्वपूर्ण योगदानको आवश्यकता रहेको बताउनुभयो । सङ्घीय सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सफल भए सङ्घीय सरकारसँग हातेमालो गर्दै प्रदेश सरकारले पनि कार्यक्रममा लगानी गर्ने बताउनुभयो । 

मुख्यमन्त्री सिंहले ठुलो सङ्ख्यामा पुरुष पलायन हुँदा महिलाहरू घरमा मोबाइल तथा टेलिभिजन हेरेर बस्ने गरेकोमा स्टार्टअप कार्यक्रमसँग महिलालाई जोडेर लघु उद्योग घरेलु हस्तकला घरेलु समानको उत्पादनमा संलग्न गराए महिला उद्यमीहरूले पनि काम तथा रोजगारीको अवसर पाउने बताउनुभयो ।  

मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले स्टार्टअपले सबैलाई समान अवसर प्रदान गर्ने भएकाले प्रदेशका युवा शक्तिलाई अगाडि बढ्न मद्दत मिल्ने बताउनुभयो । 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्टार्टअप कार्यक्रम मधेस प्रदेशका लागि उर्वर भूमिको रूपमा आएकाले यसबाट युवा उद्यमीले बढीभन्दा बढी सदुपयोग गरी लाभ लिनुपर्ने बताउनुभयो । उहाँले चुनौतीलाई स्वीकार गरेर नबढेसम्म अवसर पाउन नसकिने भएकाले अघि बढ्न युवालाई प्रेरित गर्नुभयो । 

गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियाले स्टार्टअप कार्यक्रमले युवा पुस्तालाई प्रोत्साहन गर्न तथा ऊर्जावान् बनाउनुका साथै आफूले सिकेको सिपको अधिकतम उपभोग गरी लाभ लिन सकिने भएकाले सबैथोक भए पनि पैसा नभएकाहरूका लागि स्टार्टअप कार्यक्रम उपयोगी भएको बताउनुभयो । 

उद्योगी व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले सरकारले स्टार्टअप कार्यक्रमका लागि आ.ब. २०८०–८१ का लागि एक अर्ब विनियोजन गरेको बताउनुभयो । तीन प्रतिशतको ब्याजमा पाँच वर्षका लागि २५ लाख रुपियाँ माघको अन्तिम सातादेखि वितरण गर्ने जानकारी दिनुभयो । 

कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष सोहन साह, उद्योग वाणिज्य महासङ्गका उपाध्यक्ष हेमराज ढकाल, वीरगन्ज उद्योग वाणिज्य सङ्खका उपाध्यक्ष हरि गौतम, स्टमर्टअप समिति मधेस प्रदेशका अध्यक्ष अनुप अग्रवाल र अशोक लाठले कार्यक्रमको उद्देश्य बारेमा सहभागी लगभग चारसय ५० युवा उद्यमी र क्याम्पसका विद्यार्थीलाई जानकारी गराएका थिए ।