• ७ मंसिर २०८१, शुक्रबार

पोखरामा अन्तर्राष्ट्रिय उडानको माग

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी।

रमेश पौडेल

पोखरा, कात्तिक २४ गते। होटल सङ्घ पोखरा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गरेको छ।  शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफल कार्यक्रममा सङ्घले उक्त माग राखेको हो।

यसका साथै सङ्घले मुख्य राजमार्गमा जारी स्तरोन्नति कार्यलाई पनि तीव्र रूपमा अघि बढाइ समयमै सम्पन्न गर्नुपर्ने माग पनि गरेको छ। पर्यटन व्यवसायका लागि हवाई र स्थलमार्गको विकल्प नभएकाले दुवै क्षेत्रको विकास र सञ्चालनमा तीव्रता दिनुपर्ने पर्यटन व्यवसायीको भनाइ थियो।

सो अवसरमा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राख्नुभयो। ज्ञापन पत्रमा होटललाई उद्योगसरह मान्यता दिएर सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र ऊर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्नेलगायतका विषयलाई जोड दिइएको छ।

पर्यटन मन्त्री पाण्डेसमक्ष बुझाइएको ज्ञापन पत्रमा रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरी यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने उल्लेख छ।

त्यसैगरी नेपाल पर्यटन बोर्डले पूर्वाधार विकास भन्दा पनि प्रवर्द्धनका कामलाई जोड दिनुपर्ने सुझावमा उल्लेख गरिएको छ। वातावरणीय अध्ययनको कारणले पर्यटन कार्यालय एवम् विभागबाट नवीकरण हुन नसकेका साना तथा मझौला होटल उद्योगलाई सहज रूपमा नेपाल राष्ट्र बैङ्कबाट विदेशी मुद्रा कारोबारको अनुमति नवीकरण गरिनुपर्ने र २०७२ साल अघि निर्माण भएका साना तथा मझौला होटल उद्योगले गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कनलाई खारेज गरिनुपर्ने माग पनि राखिएको छ।  

कार्यक्रममा मन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले विभिन्न सहुलियत दिँदा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण खोजी गर्ने बताउनुभयो। उहाँले यस विषयमा मन्त्रालयले प्राविधिक टोलीसँग बुझिरहेको पनि उल्लेख गर्नुभयो।  त्यसैगरी उहाँले होटल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी पनि थालेको जानकारी गराउनुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राष्ट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित सञ्चालनको विषय उठाउनुभएको थियो।  

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आउँदा पनि पोखराको नयाँ विमानस्थल सदुपयोगका लागि सरकारले विकल्प नखोजेकोमा गुनासो गर्नुभयो। अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र गरिबी निवारण हुनसक्ने, खेल पर्यटनमा जोड दिनुपर्ने र यस क्षेत्रमा एउटा पर्यटन एवं शान्ति सङ्गीत महोत्सव गरिनुपर्ने सुझाव राख्नुभएको थियो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिं ऐर, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, ओटेफकी अध्यक्ष उमा भण्डारी, नाटाका अध्यक्ष अनिल केसीलगायतले पोखराको पर्यटनका बारेमा बोल्नुभएको थियो।