• २८ पुस २०८१, आइतबार

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सांसद शङ्कर भण्डारी। तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २४ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभएको छ।

नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँको शनिबार दमौलीमा गरिएको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोन्धन गर्दै भण्डारीले नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउन घोषणा गर्नुपर्ने बताउनुभयो। हिन्दुराष्ट्र बनाउन कांग्रेसले घोषणापत्रमा नै समावेश गरेर जनता समक्ष जानुपर्ने भण्डारीको भनाइ छ। हरेक मुलकको आ-आफ्नो पहिचान र विशेषता हुने उल्लेख गर्दै भण्डारीले नेपालको मुख्य पहिचान हिन्दुराष्ट्र भएको बताउनुभयो।

लथालिङ र भद्रगोलबाट बचाउँदै अर्थतन्त्र सुधारको लागि कांग्रेसले बैदिक सनातनक धर्मको बाटो अबलम्बन गर्नुपर्ने भण्डारीको भनाइ छ। धार्मिक पर्यटकीय स्थलहरुले थुप्रै नेपालीलाई रोजगारी दिएको र  अर्थतन्त्र सुधार गर्न धार्मिक स्थलको संरक्षण तथा प्रवद्धन गर्नुपर्नेमा भण्डारीले जोड दिनुभयो। 

अधिकांश जनताको चाहना हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने र प्रदेश खारेजी गर्नुपर्ने पाइएकोले जनताको भावानाको कदर गर्न हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्ने भण्डारीले बताउनुभयो। कांग्रेसले बाटो बिराउँदा अन्तिम अवस्थामा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको स्मरण गर्दै काँग्रेसको बाटो भनेको सनातन हिन्दु राष्ट्र भएको दाबी भण्डारीले गर्नुभयो।

सांसद भण्डारी शनिबार नै  दमौलीको व्यास गुफामा एक महिने विश्व ॐकार तथा हिन्दू महामिलन पर्वको अवसरमा आयोतिज श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुनुभएको थियो। सो अवसरमा पनि भण्डारी नेपालको पहिचान कायम राख्न हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताउनु भएको थियो।