• २८ पुस २०८१, आइतबार

डढेलोले भागेको भीरमौरी फर्किएपछि संरक्षणमा जुटे स्थानीय

blog

रोयलुङमा पुनः फर्किएको भीरमौरी

राजकुमार भट्टराई

खोटाङ, कात्तिक २४ गते। पुनः फर्किएको भीरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानीका स्थानीय जुटेका छन्। बाँसपानी र खार्ताम्छाको सिमानास्थित रोयलुङबाट दुई वर्ष अघि डढेलोले भागेको भीरमौरी पुनः फर्किएपछि स्थानीयहरू त्यसको संरक्षणमा जुटेका हुन्। 

बाँसपानी र खार्ताम्छाको सिमानामा रहेको लङ खोलामा पिउरी छाँगा रहेको रहेको छ। त्यसमाथि रोयलुङ ढुङ्गामा अहिले भीरमौरी बस्न थालेपछि संरक्षणमा स्थानीय अग्रसर भएका छन्। रोयलुङ ढुङ्गामा यस अघि पनि भीरमौरी रहेको थियो। करिब २ वर्ष अगाडी उक्त ठाउँमा आगो लागेपछि भीरमौरी भागेको थियो। पुनः अहिले भीरमौरी आएर बस्न थालेपछि बाँसपानी र खार्ताम्छा दुवै वडाबाट त्यसको संरक्षणमा जुटेको बाँसपानीका स्थानीय प्रदाप राईले बताउनुभयो।

भीरमौरी रहेको ठाउँ रोयलुङ साम्पाङ राईहरूको इतिहाससँगसमेत जोडिएको छ। साम्पाङ भाषामा रोय भनेको मौरी र लुङ भनेको ढुङ्गा बुझिन्छ। इतिहासदेखिनै त्यस ठाउँमा भीरमौरी बस्ने गरेकाले त्यस ठाउँलाई रोयलुङ भनिएको स्थानीयले बताएका छन्। हराएको मौरी अहिले आएर बस्न थालेपछि संरक्षण गर्न सुरु गरिएको राईले बताउनुभयो। भीरमौरी संरक्षणमा बाँसपानीका वडाध्यक्ष तुलाराम राई खार्ताम्छाका वडाध्यक्ष मिलन राईले पनि ऐक्यबद्धता जनाउनुभएको छ। बाँसपानीका जनप्रतिनिधि र स्थानीयले शनिबार भीरमौरी बसेको ठाउँको अवलोकसमेत गरेको बताएका छन्। 

केपिलासगढी गाउँपालिकाको फेदी र सुंदेलमा पाइने भीरमौरी चर्चित छ। उक्त ठाउँको भीरमौरीको संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाले नीति नै लिएको छ। अब बाँसपानी र खार्ताम्छाको सिमानास्थित रोयलुङमा रहेको मौरीलाई पनि संरक्षण गर्न गाउँपालिकासँग पहल गरिने राईले बताउनुभयो। नजिकै रहेको पिउरी छाँगा र भीरमौरीलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिने स्थानीयको योजना छ। उक्त ठाउँबाट करिब १०० मिटर नजिकसम्म सडक पनि पुगिसकेकाले पर्यटकहरू भीरमौरी हेर्न जान सहज रहेको उहाँको भनाइ छ। 

बाँसपानी र खार्ताम्छा दुवै वडाका स्थानीय मिलेर संरक्षण समिति निर्माण गर्ने उनीहरूको भनाइ छ। यस अघि पनि आगो लगाएर मौरी भागेकाले पुनः मौरीलाई असर पर्ने काम गर्नेलाई स्थानीय सरकारले दण्डित गर्ने नीति लिएको छ।