• ९ वैशाख २०८२, मङ्गलबार

‘युवाहरू महत्त्वाकाङ्क्षी भएर बिदेसिँदै छन्’

blog

बिन्दु थापा 

पाल्पा, कात्तिक २४ गते । वैदेशिक रोजगारमा जाने ९० प्रतिशत युवाहरू महत्त्वाकाङ्क्षी कारण जाने गरेको सरोकारवालाले बताएका छन् । पाल्पामा भएको युवासँग नेतृत्व विषयक खुला बहसमा यस्तो बताएका हुन् । 

पाल्पाको ऐतिहासिक दरबार परिसरमा भएको खुला बहसमा पाल्पाका एक नगरपालिका र चार गाउँपालिका प्रमुख, सरोकारवाला, बुद्धिजीवी, जिल्लाका युवाहरूको सहभागिता रहेको थियो । 

 लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले युवाहरूलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । मगरले सबै पालिकाले प्रभावकारी कार्यक्रम गरेको भए पनि जनताले अपेक्षा गरेका कामहरू पूरा गर्न स्थानीय तह र प्रदेश सरकारसँग बाझिएका नियम, कानुलाई परिमार्जन गरी सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले युवा लक्षित कार्यक्रमका लागि कृषिमा अनुदान, खेलकुद, शिक्षामा लगानी गर्दैआएको भए पनि युवाहरूमा विदेश जान चाहने महत्वकांक्षीले गर्दा सरकारले गर्न खोजेको काममा सफलता प्राप्त गर्न नसकेको बताउनुभयो । 

श्रेष्ठले भन्नुभयो, “युवालाई गाउँघर, पहाड मन पर्न छाड्यो, सहरको रहरले गाउँ रित्तियो । तराईको रहरले पहाड रित्तिने क्रममा छ । विदेश गएका छिमेकीले विदेशमा गरेका मिहेनत र दुःख देखाउँदैनन्, रमाइलो गरेका र समुद्रमा खिचेका सेल्फि देखाउँछन् । तिनै सेल्फिले युवाको मन जितिरहेको छ ।”

तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठले गाउँपालिकामा युवाले मैले उद्यम गर्दैछु भनेर सहयोग माग्न आएमा रित्तै फर्कन नपर्ने बताउनुभयो । युवाहरूमा विदेश जाने घुम्ने र सेल्फी खिच्ने लहरले गर्दा र अभिभावकलाई छोराछोरी विदेश छन् भन्ने आनन्द र गर्व महसुस गरि दिँदा युवाहरू पढ्ने बहनामा बिदेसिएको बताउनुभयो । 

यस्तै, बगनासकाली गाउँपालिका प्रमुख सरस्वती चिदी, रिब्दकोट गाउँपालिका प्रमुख नारायणबहादुर कार्की र रैनादेवी गाउँपालिका प्रमुख रुक्माङ्गत भट्टराईले विदेशबाट फर्किएर कृषि तथा व्यवसायमा लाग्ने युवालाई अनुदान, बिउ बिजन उपलब्ध गराउने काम गर्दैआएको बताउनुभयो । 

इतिहासविद् निर्मल श्रेष्ठले युवाहरूमा पैसा कमाउने र रमाउने भन्ने चाहना बढेकाले रहरमा बिदेसिएको बताउनुभयो । साथीहरूले दुःख सेयर नगर्ने, तर नयाँ–नयाँ मोबाइल र नयाँ नयाँ ठाउँमा घुमघाम गरेका लोभलाग्दा तस्बिरले अहिलेका युवापुस्ताहरू स्वदेशमा बस्न नचाहेको बताउनुभयो । 

सहभागिता तर्फबाट मेरिना कार्की, सुशील बस्याल देशप्रेमी, बगनासकाली गाउँपालिकाका वरुण बस्यालले सरकारले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा विभेद नगरी लगानी गर्नुपर्ने, योजना बनाउँदा युवालाई पनि राखेर योजना बनाउनु पर्ने सुझाव दिनुभएको थियो ।