• २८ पुस २०८१, आइतबार

निस्दी र मणिमुकुन्दबिच उपाधिका लागि प्रतिस्पर्धा हुने

blog

प्रतिस्पर्धामा सहभागी खेलाडीहरू । फाइल तस्बिर

रेखीराम राना
तानसेन, कात्तिक २४ गते । मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनल खेलमा निस्दी भलिबल क्लबले पाल्पा भलिबल सङ्घलाई २५–१७, २५–२३ र २१–२५ को सोझो सेटमा हराएको थियो । त्यसैगरी निकै प्रतिस्पर्धा रहेको सेमिफाइनलको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले १९–२५, २५–१९, २०–२५, २५–२३ र १५–९ को अन्तरमा रामपुर–१०, बर्दलेलाई पराजित गरेको थियो ।

लिग चरणमा सञ्चालन हुने महिला भलिबल प्रतियोगितामा हिमालयन टाइगर क्लब चितवन र स्टेप भलिबल क्लब रामपुरबिच भएको प्रतिस्पर्धामा स्टेप भलिबल क्लब रामपुर, पाल्पा २–० को सोझो सेटमा विजयी भएको छ । यस्तै, निस्दी भलिबल क्लब पाल्पा र वालिङ भलिबल क्लब स्याङ्जाबिच भएको प्रतिस्पर्धामा वालिङ भलिबल क्लब विजयी भएको छ ।

भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलको विजेताले नगद एक लाख ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद एक लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, महिलातर्फ विजयी हुनेले नगद ३० हजारसहित पुरस्कार पाउने मण्डली युवा क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।