• ७ मंसिर २०८१, शुक्रबार

अनफ्रेन्ड [कथा]

blog

एउटा फेसबुक स्टाटसले आकर्षित गर्‍यो । पढ्न थालेँ, “माफ गर्नुहोला, जो मलाई नचिने जस्तो गर्नुहुन्छ । जसले कहिल्यै पनि मेरो ‘वाल’ मा कमेन्ट त के लाइकसमेत गर्नुहुन्न, जो आफूलाई निकै बुज्रुक ठान्नुहुन्छ, ती फ्रेन्डहरूलाई मेरो फेसबुकमा ब्लक त होइन, आउट ! अर्थात् त्यस्ता मेरा फेसबुकमा रहेका फ्रेन्डहरूलाई मेरोतर्फबाट आजकै मितिबाट अनफ्रेन्ड । म सानो मान्छे ! मलाई ससाना साथीहरू भए पुग्छ...!”

कताकति चसक्क भएँ । मेरै कुरा लेखे जस्तो पो लाग्यो तर सबै होइन केही कुरा । जस्तो कि यस्ता मान्छे मेरो पनि फेसबुकमा ‘फ्रेन्ड’ छन् । यो चाहिँ मेरै कुरा लेखे जस्तो लाग्यो तर कुनै कुरा चाहिँ ठिक लागेन । अर्थात् खुरुक्क 

‘आउट’ गरिदिए भइहाल्थ्यो नि । मतलब अनफ्रेन्ड गरिदिए भइहाल्थ्यो नि । किन यो हल्ला ? कुरा चित्तबुझ्दो र मेरै जस्तो तर यो ‘हल्ला’ त मेरो जस्तो होइन है । म गर्दिनँ । म चुपचापै यस्ता मानिसलाई बहिष्कार गर्छु । अर्थात् चुपचाप आउट, चुपचाप अनफ्रेन्ड ! 

फेसबुकमा मात्रै किन यस्ता बुज्रुक हाम्रै जीवनमा, समाजमा यत्रतत्र छन् नि । ककसलाई जीवनबाटै आउट गर्दै हिँड्नु ? हामी श्रीमान्श्रीमती आपसमा यस्तो विषयमा चर्चा, विमर्श त गरिरहन्छौँ तर हल्ला गर्दैनौँ । दुनियाँलाई सुनाएर, हल्ला गरेर के फाइदा ? उखानै पनि छ नि, ‘मनको बह कसैलाई नकह...!’

रञ्जिताले सुनाइन्, “बुझ्नुभयो, शेखरबाबुले त मलाई नचिने जस्तो पो गर्नुभयो !”

“को शेखरबाबु ?”

“उही क्या, रामजानकी सहकारीको अध्यक्ष, तपाईंलाई दाइ भन्ने !”

“ए... ! ती त्यस्तै छन् । आजकल त मलाई पनि नदेखे झैँ गर्छन् ।” “त्यही त कति ठुला भएका होलान् मानिस 

हगि ? पहिले त खुबै चेपारो पारेर बोल्थे होइन ?” रञ्जिता, मेरी श्रीमती यति भनेर चुप लागिन् ।

“हो नि !” मैले पनि फेरि कुरालाई तन्काएँ । कुरै गर्नु त हो, बाहिर हल्ला गरी हिँड्ने होइन । न म न रञ्जिता । हाम्रो त्यस्तो बानी थिएन । मनको बह कसैलाई 

नकह–हाम्रो सिद्धान्त !

सोधेँ, “कहाँ भेटेकी ?”

“के को भेट्नु, देखेकी नि, भाटभटेनीमा...!” 

“ए, हिजो ? भाटभटेनीमा पो देखेकी ?” 

“अँ, अँ– हिजो भाटभटेनीमा उनीसित झन्डै झन्डै आमनेसामने हुँदा, उनको आँखामा हँसिली भएर हेर्दा पनि तिनले त नचिने जस्तो पो...!”

“अरू कोही थिए उनीसित ?”

“उनकी श्रीमती थिइन् नि, उनले पनि मुन्टो बटारेकी, हेर्नु त...?”

“ती बहिनी त असलै थिइन् त, खोइ के भएको ?”

“त्यही त, दुवै जनाले नदेखे जस्तो गरेका ।”

म चुप लागेँ । सम्झिएँ, रामजानकी सहकारीमा कारोबार हुँदा उनीहरू दुवै जनासित भेट भइरहन्थ्यो । उनी हार्दिकतापूर्वक बोल्थे । उमेरमा उनीभन्दा जेठो थिएँ, त्यसैले मलाई ‘दाइ’ भन्थे । म शेखरजी भन्थेँ । उनकी श्रीमती त झन् एक कदम अघि बढेर आइस्यो, बसिस्यो गर्थिन् । आदरका साथ ‘दाइ हजुर’ भन्थिन्, म बहिनी भन्थेँ । उनी रञ्जितालाई ‘भाउजू’ भन्थिन् । उनको नाम गौरी । उनका श्रीमान् शेखर यस सहकारीका अध्यक्ष र गौरी व्यवस्थापक । मतलब सहकारीको म्यानेजर गौरी र अध्यक्ष थिए शेखर । हामी दुवै चाहिँ सहकारीका सेयर होल्डर...। 

यसरी हामी सहकारीमा पनि जोडिएकाले हो कि, हाम्रो सम्बन्ध करिब करिब पारिवारिक प्रकारको बनेको थियो । छिमेकी नै नभए पनि हामी एउटै टोलका भएर पनि यो चिनाजानी र हार्दिकता भएको होला, म यस्तो ठान्दथेँ । सहकारी जाने भनेको पनि कर्जा लिन, बचत रकम जम्मा गर्न न हो । आजकाल त्यो ठाउँ नै छाडेर हिँडेपछि करिब करिब आउनेजाने बन्द जस्तै नै थियो । उत्तरको बेँसीगाउँबाट अहिले हामी पुरापुर दक्षिणको अन्डोल पुगेका थियौँ । काठमाडौँ जिल्लाको बेँसीगाउँबाट ललितपुर जिल्लाको अन्डोल । 

कर्जा कुनै तिर्न बाँकी राखेर त्यहाँ, रामजानकी सहकारीमा जान छाडेको पनि होइन । कर्जा सबै राफसाफ थियो । बचत रकम पनि झिकिसकेका थियौँ र मासिक जम्मा गर्न पनि छाडिदिएका थियौँ । 

मैले प्रस्ट भनिदिएको थिएँ, “म पाँच सय महिनाको जम्मा गर्न आउँदिनँ है । बरु मिल्छ भने मेरो सेयर सदस्य रकम पनि झिक्न पाऊँ ।”

व्यवस्थापक गौरीले भनेकी थिइन्, “भइहाल्छ नि दाइ, म मिटिङमा कुरा राखिदिऊँला ।”

हामी ठाउँ छाडेर हिँड्यौँ । मतलब अर्को ठाउँमा बसोबास सारेका थियौँ । मिटिङमा कुरा राखे÷राखेनन्, त्यसको पनि केही खबर गरेनन् । त्यस रामजानकी सहकारीमा जान छाडेको पनि चार/पाँच वर्ष नै बित्यो । हामी दुई श्रीमान्श्रीमती सेयर होल्डर हुँदाको सेयर रकम झिक्न मिटिङमा कुरा राखिदिने कुरा के भयो, त्यसको पनि थाहापत्तो दिएनन् । हामीले पनि त्यो सेयर सदस्यबापतको रकम फिर्ता पाउने विश्वास नभएर, धाएर फेरि त्यस सहकारीमा पाइला टेकेका पनि थिएनौँ । एकप्रकारले माया मारेका थियौँ । ठाउँ टाढा भएपछि हामीलाई त्यसै सहकारी संस्थामा संलग्न भइराख्नु जरुरी पनि भएन । हामी यता आएपछि उनीहरूले कहिल्यै वार्षिक साधारण सभामा पनि बोलाएनन् । बजारतिर उनीहरूलाई कहिलेकाहीँ नदेखेको होइन, देख्थेँ तर यता आएर उनीहरूको व्यवहार बदलिएको मलाई पनि लागिरहेको थियो । किनभने बजारहुँदी उनीहरू देखिँदा तर्किएर हिँडेको जस्तो मलाई लाग्थ्यो । 

एक दिन म बसमा चढ्न त्रिपुरेश्वरमा उभिइरहेको थिएँ । उनी त्यहीँ त्रिपुरेश्वरमा श्रीमती गौरीलाई पछिल्तिर राखेर मोटरसाइकलमा आइपुगे र जामका कारणले रोकिए । मेरो आँखा जुध्यो तर अहँ उनको ओठ मुस्कुराएन । गौरीले पनि मलाई नदेखे झैँ गरिन् । शेखरले जुधेको आँखाबाट आँखा हटाए र मुन्टो बटारे । 

मैले त्यस दिन सोचेको थिएँ, शेखर र गौरी मेरो नजरबाट आउट ! फेसबुकमा मेरो कुनै फेसबुक फ्रेन्डले लेखे झैँ । अर्थात् आफ्नो फेसबुक फ्रेन्डलाई अनफ्रेन्ड गरे झैँ । 

अरे, खानु छ आफ्नो खाना अनि मलाई के जरुरत छ गाउने अरूको गाना ! म मधेशबाट यहाँ आएर बसोबास गरेको मान्छे । हाम्रो मधेशतिर ‘कौन पुछे खेसरीके दाल’ भन्छन् । मतलब उनी आफ्ना लागि बुज्रुक होलान्, ठुलो होलान् तर मेरा लागि ‘कौन पुछे खेसरीके दाल’...!

म फेसबुक उति चलाउँदिनँ । यी फेसबुकमा स्टाटस लेखेर मनको बह कहने मेरा फेसबुक फ्रेन्डलाई म चिन्दिनँ । फेसबुकमा साथी बन्न अनुरोध गर्ने कति हुन्छन् कति । चिनेका, नचिनेका कति हुन्छन् कति । नचिने पनि प्रोफाइल ‘लक्ड’ नगर्ने, अनुहार देखाउने, प्रोफाइलमा विवरण लेख्ने मतलब आफ्नो परिचय खोल्न चाहनेलाई म कन्फर्म गर्छु । अर्थात् फेसबुक फ्रेन्डका रूपमा आएका अनुरोधलाई स्वीकार गर्छु । कहिले चिनेका साथी, मान्यजनलाई म नै पनि अनुरोध पठाउँछु तर उही हो, म फेसबुक कम चलाउँछु । बरु अनलाइन समाचार हेर्छु । मतलब पढ्छु । यसरी फेसबुकभन्दा यसमा म खबर पढ्न समय बढी व्यतीत गर्छु । 

आज अचानक गोरखापत्र अनलाइनको एउटा खबरमा आँखा गयो । लेखिएको थियो, सहकारी रकम हिनामिना गरेर अध्यक्ष र व्यवस्थापक फरार । पढ्दै गएँ, अध्यक्षमा उही शेखरको नाम देखेँ र व्यवस्थापकमा उही गौरी...। यति पढ्नासाथ मुखबाट ठुलो आवाज निस्कियो मेरो, “रञ्जिता, ए रञ्जिता सुन्यौ ठुला मान्छे त फरार...।”

रञ्जिता मेरो चर्को स्वरले भान्साबाट दौडिँदै आइन्, “किन कराउनुभएको ? के भयो ?”

त्यसपछि मैले अलिक बिस्तारै मतलब नचिच्याई भनेँ, “रामजानकी सहकारीको रकम हिनामिना गरेर शेखर र गौरी फरार अरे । लौ खबर पढ ।” 

मैले मोबाइलमा गोरखापत्र अनलाइनको खबर उनलाई पढाउन खोजेँ । 

उनी ‘आः मेरो तरकारी डढ्छ’ भन्दै उम्किइन् । जाँदाजाँदै फतफताउँदै गइन्, “असल मान्छे ठालु पल्टिँदै पल्टिँदैनन् नि । यस्तै हुन्छन् यस्ता नक्कली मानिसहरू । बरु यिनलाई कहिले पक्डेलान् ? हतकडी लगाएको खबर चाहिँ मलाई देखाउनु बुढा....!”

म भने सोचमग्न भएँ हतकडी त तिनलाई एक दिन लाग्ला । लाग्नु पनि पर्छ तर कति मानिसले दुःखले जम्मा गरेका थिए होलान् पैसा, तिनले पो पैसा कसरी फिर्ता पाउने होलान्...? 

Author

नारायण तिवारी