• ७ मंसिर २०८१, शुक्रबार

अर्थतन्त्र सुधार्न हस्तकलाको प्रवर्धन

blog

नेपालको हस्तकला उद्योगका वस्तु विश्वभर प्रसिद्ध छन् । हाल यहाँबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादन विभिन्न देशमा निर्यात गरिन्छ । वस्तुतः सन् १९७२ देखि सन् २०८५ सम्म नेपाली हस्तकला उद्योगका सामान प्रचुर मात्रामा निर्यात गरिन्थ्यो । परन्तु, सन् २००५ पछि यहाँ भएका महामारी, नाकाबन्दी आदि कारणले यहाँको हस्तकला उद्योग फस्टाउन सकेन । जुनसुकै उद्योगको विकासका लागि गुणस्तरीय कच्चा पदार्थले महत्वपूर्ण भूमिका खेल्छ । गुणस्तरयुक्त कच्चा पदार्थको कमीले गर्दा नेपाली हस्तकलाका उत्पादन माग अनुरूप अभिवृद्धि गर्न सकिएको छैन । 

उदाहरणका लागि विश्व बजारमा नेपाली पश्मिनाको धेरै माग छ । यसका लागि आवश्यक कच्चा पदार्थको बेलाबेलामा अभाव हुनाले माग अनुसार उत्पादन गर्न सकिएको छैन । यति मात्र नभई वनजन्य कच्चा पदार्थको ढुवानी, ओसारपसार आदिमा स्थानीय सङ्काय, समुदाय, प्रहरी आदिबाट बारम्बार गरिने अवरोधले यहाँको हस्तकला उद्योग प्रवर्धनमा नकारात्मक प्रभाव परेको छ । यहाँको हस्तकलाका वस्तु उत्पादन विन्दुबाट सिधै उपभोक्ता विन्दुसम्म पुग्न र उक्त वस्तु उत्पादनको बारेमा स्पष्ट प्रमाणित लिपिबद्ध लिखत नहुनाले पनि यहाँको हस्तकला उद्योगमा बाधा पुगेको छ ।

नेपालबाट निर्यात गरिने हस्तकलाका वस्तु उत्पादनका लागि सरकारले प्रोत्साहनका रूपमा दिँदै आएको रकम ज्यादै न्यून छ । यसलाई बढाउन सरकारको ध्यान अझसम्म पनि आकृष्ट हुन सकेको छैन । त्यसैले भविष्यमा यसका लागि सम्बन्धित निकायको थप प्रयासको आवश्यकता छ । आज विश्व प्रत्येक व्यापारका लागि ई–कमर्सतर्फ अग्रसर भइरहेको छ । किन्तु, नेपालमा हालसम्म पनि परम्परागत व्यापार गर्ने प्रणाली अपनाउनाले यहाँको हस्तकला उद्योगले खास गति लिन सकेको छैन । अतः भविष्यमा यसतर्फ आबद्ध हुनु जरुरी छ ।

सरकारले मूल्य अभिवृद्धिका ऐन, २०५२ जारी गरेसँगै यहाँ उत्पादित हस्तकलाका वस्तुलाई कर छुट दिने निर्णय गरेको थियो । उक्त निर्णय आजसम्म पनि पूर्ण रूपमा लागु गर्न नसक्नाले यहाँको हस्तकला प्रवर्धनमा खासै प्रभाव परेको छैन । भविष्यमा उक्त निर्णलाई व्यवहारमा उतार्न आवश्यक छ । नेपाली हस्तकला उद्योगको विकासका लागि तालिम प्राप्त कालीगढ तथा कामदारको आवश्यकता पर्छ । जुन नेपालमा अभाव भएकाले छिमेकी राष्ट्र भारतबाट बारम्बार झिकाउनुपर्ने अवस्था छ । यहाँका युवालाई उक्त उद्योगमा आकृष्ट गर्न नसकिएकाले यस्तो अवस्था सिर्जना भएको हो । भविष्यमा उनीहरूलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

युवाको सहभागिताबिना नेपाली हस्तकला उद्योगको ठोस विकास गर्न सम्भव छैन । उनीहरूलाई उक्त उद्योगमा आकर्षित गर्न नियमित रूपमा तालिम, गोष्ठी, कार्यशाला र प्रदर्शनीको आयोजना गर्न आवश्यक छ । योबाहेक हस्तकलासम्बन्धी चेतनामूलक वृत्तचित्र एवं श्रव्य–दृश्य सामग्री उत्पादन गरी व्यापक प्रचारप्रसार गर्न पनि उत्तिकै जरुरी छ । वर्तमान शताब्दी प्रचारप्रसारको युग हो । जसको माध्यमद्वारा यहाँको हस्तकलाका सामानको बिक्री वृद्धि भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने छ । त्यसैले भविष्यमा प्रचारप्रसारमा विशेष जोड दिनु पर्छ ।

नेपाली हस्तकला उद्योगको प्रवर्धन गर्न नितान्त आवश्यक छ । यसका लागि विगतमा यहाँको हस्तकला निर्यात गरिएका देशका उपभोक्ताको रोजाइ अनुसारका वस्तु हो उत्पादनमा विशेष जोड दिनु पर्छ । योबाहेक नयाँ मुलुकमा पनि उक्त वस्तुको निर्यात गर्ने निरन्तर प्रयत्न गर्नु पर्छ । नेपाली हस्तकला उद्योगको विकासका लागि सम्बन्धित ऐन नियमले पनि महत्वपूर्ण भूमिका खेल्छन् । अतएव उक्त उद्योगसँग सम्बन्धित विद्यमान ऐन नियम, उद्योग व्यवसायसम्बन्धी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन, प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, आयकर ऐन, कम्पनी ऐन, विद्युतीय कारोबारसम्बन्धी ऐन, भन्सार ऐन, बिमा ऐन, विदेशी विनिमय सम्बन्धी ऐन आदिमा उल्लिखित कारोबारको प्रावधानबाट पर्न सक्ने असरको विश्लेषण गरी संशोधनका लागि नेपाल हस्तकला उद्योग महासङ्घले सम्बन्धित क्षेत्रमा पहल गर्न अत्यावश्यक छ । फलस्वरूप भविष्यमा उक्त उद्योगको प्रवर्धनमा ठुलो सघाउ पुग्ने छ ।

नेपालको हस्तकला उद्योगको विकासका लागि विशेषतः नेपाल हस्तकला उद्योग महासङ्घ जिम्मेवार छ । वास्तवमा कुनै पनि सङ्घसंस्थाको अस्तित्व तब मात्र सार्थक हुन्छ जब त्यसले आफ्नो विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धित पक्ष तथा व्यक्तिसँग सम्पर्क गरी आफ्ना काम गर्न गराउन सफल हुन्छ । महासङ्घद्वारा यहाँको समग्र हस्तकला उद्योगका लागि हालसम्म पनि कुनै उल्लेखनीय कार्य हुन सकेको छैन । त्यसैले भविष्यमा यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

नेपालको हस्तकला उद्योगको विकासका लागि सही तथ्याङ्कको ज्यादै आवश्यक छ । जसका लागि हस्तकला निर्माता, स्थानीय विक्रेता र निर्यातकर्ताका बिचमा सक्रिय समन्वय जरुरी छ । यसका लागि महासङ्घले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नु पर्छ ।

नेपालमा हस्तकला उद्योगको ठोस विकास गर्न विद्यमान समस्या पहिचान गरी समाधान गर्न आवश्यक छ । यसका लागि नेपाल हस्तकला उद्योग महासङ्घ र सम्बन्धित निकायको सक्रिय सहयोगको खाँचो छ । वित्तीय पहुँच पुग्न नसकेको हस्तकला उद्योगबाट आर्थिक वर्ष २०७९/८० मा झन्डै २५ अर्ब रुपियाँको कारोबार भई १२ अर्ब बराबरको हस्तकलाका सामान निर्यात गरिएको कुरा एक आधिकारिक तथ्याङ्कले पुष्टि गरेको छ । उक्त तथ्याङ्कले नेपाली हस्तकलाका वस्तुले यहाँको निर्यात व्यापार वृद्धि गरी व्यापारघाटा कम गर्न सघाउ पु¥याउने छ ।

केही वर्षयता यहाँ हस्तकला उद्योग विस्तारित हुँदै गए पनि यसको समसामयिक प्रवर्धन गर्न नितान्त आवश्यक छ । यसबाहेक भविष्यमा नेपाल सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) कार्यक्रममा समावेश गरिएका हस्तकलाका वस्तुको प्रचारप्रसार गरी निर्यात व्यापार प्रवर्धन गर्न जरुरी छ । यसका लागि बेलाबेलामा स्वदेश तथा विदेशमा हस्तकलासम्बन्धी मेला तथा प्रदर्शनी सञ्चालन गर्न जरुरी छ । नेपाली हस्तकला उद्योगको प्रवर्धनका लागि हाल बागमती प्रदेशमा मात्र केन्द्रित उक्त उद्योग आगामी दिनमा अन्य प्रदेशमा पनि स्थापना गर्न आवश्यक छ । जसका लागि उपयुक्त ठाउँ छनोट गर्नु पर्छ ।

नेपालमा बेरोजगारीका समस्या दिन प्रतिदिन तीव्र रूपले बढिरहेको छ । त्यसैले प्रत्येक वर्ष यहाँका युवा रोजगारीका लागि बिदेसिने क्रम निरन्तर बढिरहेको छ । भविष्यमा यहाँका उपयुक्त ठाउँमा हस्तकला उद्योग स्थापना गर्न सकेमा केही युवाका लागि मात्र भए पनि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने कुरा जगजाहेर छ । जुन कुरा सम्बन्धित पक्षले बुझ्नु परेको छ ।

नेपाल एक अति कम विकसित देश भएकाले यहाँका केही क्षेत्रमा खास गरी दुर्गम क्षेत्रमा गरिबी व्याप्त छ । यहाँको झन्डै २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन् । जसलाई अरू त के कुरा बिहान बेलुकाको हातमुख जोड्ने समस्या समाधान गर्न पनि धौधौ पर्छ । तसर्थ, भविष्यमा यिनीहरूलाई हस्तकला उद्योगमा संलग्न गराउन सके यहाँ विद्यमान बेरोजगारी तथा गरिबी न्यूनीकरणमा सघाउ पुग्ने छ ।

नेपालको हस्तकला उद्योग धेरै वर्षअघिदेखि प्रचलित भए पनि सन् १९७५ देखि २००५ सम्मको आँकडा मनन गर्दा नेपाली हस्तकला उद्योगको निर्यात उल्लेख्य हुन थालेको देखिन्छ । सन् २००५ पश्चात् यहाँ विद्यमान विभिन्न परिवर्तन, नाकाबन्दी आदिको कारणले उक्त उद्योग केही खस्केको छ । हालसम्म पनि नेपालमा हस्तकला उद्योगको लागि आवश्यक माटोजन्य, वनजन्य र पशुजन्य कच्चा पदार्थ आवश्यकता अनुसार सहजै प्राप्त गर्न सकिँदैन । विश्व बजारमा प्रसिद्ध पश्मिनाको माग अनुरूप उत्पादन गरी निर्यात गर्न पनि बेलाबेलामा कच्चा पदार्थको अभाव हुन्छ । यही कारणले यहाँको हस्तकला उद्योग हालसम्म पनि राम्ररी फस्टाउन सकेको छैन । नेपालबाट विदेशमा निर्यात गरिने हस्तकलाका सामानमा हालसम्म सरकारले दिँदै आएको नगद प्रोत्साहन निकै कम छ जुन हालसम्म पनि नबढाइएकाले उक्त सामानको माग अनुसारको उत्पादन अभिवृद्धि गर्न सकिएको छैन । यसबाट यहाँको निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको छ । 

नेपालमा वन पैदावारबाट उत्पादन गरिने हस्तकलाका सामानका लागि प्रयोग गरिने वनजन्य कच्चा पदार्थको ओसारपसार गर्दा स्थानीय निकाय, समुदाय र प्रहरी प्रशासनद्वारा हस्तकला उद्योगीलाई बेला बेलामा दुःख दिइन्छ । यस्तो व्यवहारबाट उनीहरू निरुत्साहित भएका छन् । नेपालमा हस्तकलाको प्रमुख समस्याका रूपमा ढुवानी रहँदै आएको छ । एकातर्फ उत्पादन विन्दुबाट सिँधै उपभोक्ताको विन्दुसम्म खसाल्न नसक्नु र अर्कोतर्फ उत्पादनसम्बन्धी प्रमाणित लिपिबद्ध लिखत उपलब्ध गराउन नसक्नाले यस्तो समस्या झेल्नु परेको छ । 

हस्तकला उद्योगको विकासका लागि तथ्याङ्क एवं अनुसन्धानको आवश्यकता छ । परन्तु नेपालमा आजसम्म पनि यस सम्बन्धमा ध्यान नदिनाले यहाँ हस्तकला उद्योग अपेक्षा अनुरूप फस्टाउन सकेको छैन । आज विश्व ई–कमर्सतर्फ उन्मुख भइरहेको छ । नेपाल यस सम्बन्धमा निकै पछि परेकाले यहाँको हस्तकला उद्योगको व्यापक प्रचारप्रसारका लागि बाधा पुगेको छ । नेपाली हस्तकला उद्योगमा प्यारेन्ट राइटको व्यवस्था छैन । तसर्थ, यहाँ उत्पादित हस्तकलाका सामानको नक्कल एवं चोरीबाट उक्त उद्योगका व्यवसायी मारमा परेका छन् । यसबाहेक यहाँका हस्तकलाका सामानको उचित बजार मूल्यको कमी, हस्तकलाको सामानसम्बन्धी प्रभावकारी ऐन तथा नियमावलीको अभाव आदि कारणले स्थानीय बजारमा नकारात्मक प्रभाव परेको छ । 

सरकारले मूल्य अभिवृद्धि कर जारी गरेपछि यहाँ उत्पादित हस्तकलाका सामानलाई पनि कर छुट प्रदान गरेको छ तर यसलाई व्यवहारमा उतार्न सकिएको छैन । नेपालको हस्तकला उद्योगको प्रवर्धनका लागि एकातर्फ नयाँ देशसँग व्यापार गर्न आवश्यक छ भने अर्कोतर्फ धेरै वर्ष अघिदेखि निर्यात गरिएका देशमा व्यापार बढाउन आवश्यक छ । यति गर्न सके अर्थतन्त्रमा महìवपूर्ण योगदान पुग्ने छ । यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनु पर्छ । 

  

Author

केबी बस्नेत