• २८ पुस २०८१, आइतबार

न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछु : नित्यानन्द पाण्डे

blog

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डे शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक २३ गते । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रस्तुत गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभूति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताउनुभयो ।

स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताउनुभयो । प्रस्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो। ‘‘इमान्दार, निष्ठा र लगनशीलता साथ गरिने कार्यबाट यो कार्यभार र दायित्व निर्वाह गर्न सकिन्छ भन्नेकुरामा म विश्वस्त छु । यही विश्वास र सङ्कल्पका साथ स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्ने मेरो भरपुर प्रयत्न रहनेछ । स्वतन्त्र, निष्पक्ष एवम् सक्षम न्यायपालिकाको मूल्यमान्यतालाई आत्मासात गर्दै संविधान, कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा न्यायिक सदविवेकको समेत प्रयोगद्वारा न्यायको अनुभूति हुनेगरी न्याय सम्पादन गर्ने कार्य गर्नेछु ।’’

प्रस्तवित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताउनुभयो ।