• १० मंसिर २०८१, सोमबार

राष्ट्रिय परिचयपत्र व्यवस्थापनमा सकस

blog

बनिसकेको राष्ट्रिय परिचयपत्र ।

अमरराज नहर्की

तनहुँ, कात्तिक २३ गते। राष्ट्रिय परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको छ। अधिकांशले लिन नआउँदा सङ्ख्या बढीरहेकोले थन्काएर राख्न कठिन भएको हो।

तयार भएका राष्ट्रिय परिचयपत्र अधिकांशले लिन नआएकोले व्यवस्थापन गर्न झन्झट भएको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले बताउनुभयो। 

परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै आउनुपर्ने भएकोले अधिकांशले नलगेको उहाँले बताउनुभयो। धेरै युवा विदेशमा रहेकाले लिन नआएको उहाँ बताउनुहुन्छ। परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने पण्डितले बताउनुभयो। 

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट जानकारी हुन्छ। पण्डितले भन्नुभयो, ‘राष्ट्रिय परिचयपत्र लिन आउन स्वयम् व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएका छन्।’’

राष्ट्रिय परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरेको कार्यालयले जनाएको छ।  दर्ता सहयोगी जमुना श्रेष्ठका अनुसार चालिस हजार बढी राष्ट्रिय परिचयपत्र लिन आएका छैनन्। 

उहाँका अनुसार तयारी राष्ट्रिय परिचयपत्र लिनका लागि दिनमा  २५देखि ३० जना आउने गरेका छन्। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार सात सय एक जनाले नयाँ दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले राष्ट्रिय परिचयपत्र लगेका छन्। 

२०७६ सालमा बनाएका पनि अधिकांश लिन नआएको उहाँले जानकारी दिनुभयो। कार्यालयमा रहेको दुई वटै दराज परिचयपत्रले भनिएको श्रेष्ठले बताउनुभयो।