• २८ पुस २०८१, आइतबार

मोरङको ग्रामथान उपनिर्वाचन : कांग्रेस र माओवादीले टुङ्ग्यो उम्मेदवार

blog

उपनिर्वाचनका उम्मेदवार नमोनारायण माझी र बलराम सरदार । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, कात्तिक २३ गते ।
मोरङको ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी टुङ्ग्याएको छ ।

कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पालिका कमिटीबाट ११ जनाको नाम सिफारिस भएकोमा कांग्रेस मोरङको संसदीय समितिले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी, माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादी केन्द्र झण्डै एक महिना अघिदेखि नै निर्वाचन केन्द्रित कार्यक्रममा सक्रिय छ ।

त्यस्तै, नेकपा (एमाले)ले तीन जनाको सूची प्रदेश कमिटीमा पठाएको छ । बिहीबार एमालेले सम्भावित तीन जना उम्मेदवारको नाम मोरङले प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

गाउँपालिका कमिटीबाट ११ जनाको नाम सिफारिस आएकोमा जिल्लाबाट तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम प्रदेशमा सिफारिस गरिएको एमाले मोरङ इञ्चार्ज जीवन घिमिरेले जानकारी दिनुभयो । तीन जनामध्ये पाका पुरानाबाट उम्मेदवारी भए तुलसी विश्वास, युवाबाट भए कृष्णकुमार र महिलाबाट भए निर्मलाले उम्मेदवारी दिनसक्ने गरी प्रदेश कमिटीलाई नाम सिफारिस गरेको घिमिरेले बताउनुभयो ।

यसैगरी, अन्य राजनीतिक दलले भने ग्रामथानको चुनावका लागि गरेको तयारी सार्वजनिक भइसकेको छैन ।

कोशी प्रदेशमा विभिन्न ९ पदमा उपनिर्वाचन हुन लागेको छ । त्यसमध्ये ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखपछि ग्रामथान गाउँपालिका अध्यक्ष पदमा हुने निर्वाचनमै सबैको ध्यान केन्द्रित देखिएको छ ।

स्थानीय तहको २०७९ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।