• ७ मंसिर २०८१, शुक्रबार

मृगलाई हानेको गोली लागेर साथीको मृत्यु

blog

राजकुमार भट्टराई
खोटाङ, कात्तिक २३ गते ।
खोटाङमा सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो । गोली हान्ने सोही ठाउँका २५ वर्षीय चेतन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राईलाई पक्राउ गरेर बिहीबार राति जिल्ला प्रहरी कार्यालय ल्याइएको सूचना अधिकारी (प्रहरी निरीक्षक) सञ्जु कार्कीले बताउनुभयो । फेदीस्थित पिपिङका राईद्वय बुधबार साँझ सिकार खेल्न गाउँ नजिकै रहेको हात्तीढुङ्गे जङ्गलमा जानुभएको थियो । एक्कासि बन्दुक पड्एिको र मान्छे कराएको आवाज आएपछि स्थानीयहरु जङ्गलमा हेर्न जाँदा जगतप्रसाद ढलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उत्तानो परेर ढलिरहेका जगतप्रसादको छातीबाट रगत बगिरहेको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । सँगै सिकार खेल्न गएका चेतन भाग्दै गरेको स्थानीयले देखेको बताएका थिए ।

घटनाका बारेमा राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालयलाई खबर आएको थियो । नजिकै रहेको प्रहरी चौकी खार्ताम्छालाई खटाएर घटनास्थल सुरक्षित राखेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको बताइएको छ ।

घटनास्थलबाट फरार रहेका चेतनलाई बिहीबार नियन्त्रणमा लिई रातिनै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । आफूले मृगलाई भनेर हानेको गोली साथीलाई लागेर घटना भएको चेतनले स्वीकारेका छन् ।

“दुई जना मिलेर कालिज मार्न जङ्गल गएका रहेछन् । रातको समयमा जङ्गलमा मृग रहेछ भनेर गोली हान्दा सँगै गएको साथीलाई लागेको उनले स्वीकारेका छन् ।” प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, “गोली लागेर मृत्यु भएका जगतप्रसादको साथमा एउटा र मृतकभन्दा केही पर झाडीमा एउटा गरी दुई वटा भरुवा बन्दुक हामीले भेटेका थियौँ ।”