• ७ मंसिर २०८१, शुक्रबार

एमाले रेसुङगाको अध्यक्षमा पाण्डे

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा नवनिर्वाचित राजेन्द्र पाण्डे ।

तिलाचन पाण्डे

तम्घास,कात्तिक २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । बिहीबार राति सम्पन्न दोस्रो नगर अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएको एमाले गुल्मीले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा देवीराम खनाल, सचिवमा देवीराम पाण्डे, उपसचिवमा टोपबहादुर थापा र मिठु बोहोरा चयन हुनुभएको छ । निर्वाचित पाण्डेको समूहको कार्यकाल आगामी दुई वर्षको रहनेछ । 

नेतृत्व हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष हरि पोखरेलले पार्टीको हित र नगरको विकासमा लाग्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।  बिहीबार नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहमतिमै नेतृत्व चयन गर्न र रेसुङगाको विकासका निम्ति लाग्न आग्रह गर्नुभयो ।  

पाण्डे गत स्थानीय तहको निर्वाचनमा रेसुङगा नगरपालिकामा नेपाली काँग्रेसका सभापति तथा नगरप्रमुख खिलध्वज पन्थीसङ्ग पराजित हुनुभएको थियो । एमालेले दुई नगरसहित १२ स्थानीय तह रहेको गुल्मीमा ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । 

जिल्लाको कालीगण्डकी गाउँपालिकामा भने हालसम्म अधिवेशन हुन सकेको छैन । कात्तिक महिनाभित्रमा कालीगण्डकीमा पनि अधिवेशन गर्नेगरी तयारी गरेको नेकपा (एमाले) गुल्मीले जनाएको छ ।