• ९ मंसिर २०८१, आइतबार

कर्णालीको स्वास्थ्य अवस्था दिगो विकास लक्ष्यमा पुग्नै चुनौती

blog

पूर्वी सुर्खेतको स्वास्थ्य संस्थामा उपचारका लागि स्ट्रेचरमा बोकेर बिरामी ल्याइँदै ।

 ललित बसेल 

सुर्खेत, कात्तिक २३ गते । कर्णालीको स्वास्थ्य अवस्थाको सूचकाङ्कलाई हेर्दा सन् २०३० को दिगो विकास लक्ष्यमा पुग्न चुनौती देखिएको छ । दिगो विकास लक्ष्य भेटाउन छ वर्षको अवधि बाँकी रहेकामा कर्णाली प्रदेशको स्वास्थ्यको सूचकाङ्कको अवस्था हेर्दा निकै कमजोर छ । 

कर्णालीको सामाजिक विकास मन्त्रालयले नै दिगो विकास लक्ष्य भेटाउने स्वास्थ्य क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको जनाएको छ । नवजात शिशुको मृत्युदर, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर, पुड्कोपना, कम तौललगायतका सूचकमा कर्णालीको अवस्था राष्ट्रिय सूचकको भन्दा कम छ । छ वर्षका अवधिमा यी सूचकमा धेरै काम गर्नुपर्ने देखिएपछि त्यो पूरा गर्न असम्भव प्रायः छ । सन् २०२२ को स्वास्थ्यको तथ्याङ्कमा नवजात शिशुको मृत्युदर कर्णालीमा प्रतिहजार जीवित जन्ममा २६ जना रहेको छ । राष्ट्रिय दर २१ हो । सन् २०३० मा १२ जनामा झार्ने लक्ष्य छ । 

यसै गरी पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कर्णाली निकै पछाडि छ । यसमा प्रतिहजारमा कर्णालीमा ४६ जनाको मृत्यु हुने गरेको छ । जबकि राष्ट्रिय तथ्याङ्कमा ३३ छ । दिगो विकास लक्ष्यको अवधिमा २० जनामा झार्ने लक्ष्य छ । यस सूचकमा पुग्न निकै कठिनाइ हुने देखिएको छ । यस्तै पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनाको सूचकमा पनि धेरै सुधार गर्नुपर्ने छ । यसमा राष्ट्रिय प्रतिशत २५ रहेकोमा कर्णालीको अवस्था ३५.८ प्रतिशत छ । सन् २०३० सम्म १५ प्रतिशतमा झार्नुपर्ने छ । 

यसै गरी पाँच वर्षमुनिका बालबालिकामा हुने कम तौलको प्रतिशतमा पनि कर्णाली कमजोर छ । राष्ट्रिय औसत प्रतिशत १९ रहेकोमा कर्णालीमा १७.७ प्रतिशत छ । सन् २०३० मा यो प्रतिशत नौ प्रतिशतमा झार्नुपर्ने छ । मातृ मृत्युदर पनि यहाँ बढी छ । मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा राष्ट्रिय औसतमा १५१ जना रहेकामा कर्णालीको १७२ जना रहेको छ । सन् २०३० मा यो सङ्ख्या ७० जनामा झार्नुपर्ने रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संस्थागत प्रसूतिको प्रतिशत पनि उस्तै छ । राष्ट्रिय औसतमा ७९.३ प्रतिशत रहेकोमा कर्णालीको ७२.५ प्रतिशत छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० मा ९० प्रतिशत पु¥याउनुपर्ने देखिएको छ । कर्णालीमा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै छ । सडकको सुविधा नहुँदा एम्बुलेन्स चल्न नसक्नु, दक्ष जनशक्तिको अभावमा संस्थागत प्रसूतिमा सुधार ल्याउन धेरै काम गर्नुपर्ने छ भने स्वास्थ्य बिमा गर्नेको अवस्था पनि कर्णाली निकै कमजोर छ । हालसम्म कर्णालीमा २९ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गरेका छन् । २०३० सम्म शतप्रतिशत पु¥याउनुपर्ने छ । 

स्वास्थ्यको अवस्थालाई हेर्दा दिगो विकास लक्ष्यको अवधिसम्म पुग्नका लागि धेरै काम गर्नुपर्ने स्वास्थ्य सम्बद्ध अधिकारी बताउँछन् । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्का स्वास्थ्य क्षेत्रको आधाभन्दा बढी सूचकमा कर्णाली पछाडि रहेकाले धेरै काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँले दिगो विकास लक्ष्यको अबको छ वर्षको अवधिमा सरकारी तथा गैरसरकारी निकायले कामको गतिलाई बढाई स्वास्थ्यको अवस्थामा सुधार ल्याउनुपर्ने जनाउनुभयो । उहाँले कर्णालीको मातृ मृत्युदरमा विगतको तुलनामा सुधार आएको दाबी गर्दै अन्य सूचकलाई पनि यस्तै सुधार गर्दै ल्याउनुपर्ने सुझाव दिनुभयो । 

सामाजिक विकासमन्त्री घनश्याम भण्डारी दिगो विकास लक्ष्य भेटाउन कर्णालीको अवस्था हेर्दा धेरै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । उहाँले बाल मृत्युदर, मातृ मृत्युदरमा कमी आए पनि अन्यमा सुधार गर्नुपर्ने धेरै रहेको उल्लेख गर्नुभयो । कर्णालीमा चिकित्सक आउन नचाहने, अरू खालका जनशक्तिको अभाव, भौगोलिक कठिनाइ जस्ता कारणले यहाँको स्वास्थ्य क्षेत्र जटिल बने पनि विगतको तुलनामा क्रमशः सुधार आइरहेको उहाँको भनाइ छ । आयुर्वेदलाई पनि अगाडि बढाउने, पोषणलाई अभियानका साथ सञ्चालन गर्न सकिने स्वास्थ्यमा छिट्टै सुधार आउने सुझाव उहाँले दिनुभयो ।