• १२ पुस २०८१, शुक्रबार

छठको फैलिँदो सुवास

blog

भूमण्डलीकृत विश्वमा सांस्कृतिक आदानप्रदान विस्तार हुँदै जानु विशिष्ट अवसर जस्तै भएको छ । वर्तमान विश्वमा मानिस अवसरको खोजीमा आफ्नो थातथालो छोड्नु कम रहर र बढी बाध्यता हो । थातथलो छोडे पनि धार्मिक तथा सांस्कृतिक मान्यतालाई सँगै लिएर जाने प्रचलन भने यो भूमण्डलीकृत विश्वले सहज बनाउँदै छ । सञ्चार तथा सूचना प्रविधि, सामाजिक सञ्जालले यस तवरको सांस्कृतिक प्रसारलाई अझ तीव्र बनाएको छ । तराई मधेशको खास गरी मिथिला क्षेत्रमा मनाइने पर्व छठ परम्परागत थातथलोमा मात्र सीमित नरहनु भूमण्डलीकृत विशेषतासँगै जोडिएको हुनु पर्छ । छठ अहिले मिथिलाबाट राजधानी काठमाडौँमा राम्रै गरी प्रवेश गरेको छ । मिथिलादेखि पूर्वपश्चिम समथर भूभागमा मात्र होइन, पहाडी भेगका नदी तलाउ पनि छठमय बनेका छन् । नेपाली पुगेका समुद्रपार मुलुकमा समेत छठको सांस्कृतिक सुवास सगौरव फैलिरहेको छ ।

छठ सूर्यको उपासना गरी मनाइने पवित्र पर्व त हो नै, छठीमाताको आराधना गरी पारिवारिक सुख, शान्ति र समृद्धि कामना गर्ने विशिष्ट अवसरसमेत हो । सूर्यबिना पृथ्वीमा जीवको कुनै कल्पना हुन सक्दैन । यसरी हेर्दा सूर्य सृष्टिको मुहानै हो । सौर्यमण्डलका अनेक सिद्धान्तले पृथ्वीलगायतका ग्रहको उत्पत्ति वैज्ञानिक विवेचनाको विषय हो तर सूर्य र पृथ्वीबिचको तापमान सन्तुलनमै मानिसलगायत सबै जीवजन्तुको अस्तित्व छ । जगत्को निरन्तरता छ । छिटो धनी हुने सुरमा प्राकृतिक दोहनले विगत दुई तीन सय वर्षदेखि सन्तुलनमा सङ्कट आयो । अहिले जलवायु परिवर्तनको विश्व चिच्यावट अपवित्र कामकै प्रतिफल हो । सूर्य उपासनाको छठ पर्वले सनातनदेखि नै पर्यावरण सन्तुलनको महत्वलाई अति महत्व दिएको सन्देशलाई संस्थागत गर्दा के फरक पर्छ ? त्यसैले त मानिसले सूर्य र जललाई संयोजन गरेर छठको सांस्कृतिक पवित्रता विस्तार गर्दै लैजान सक्यो ।

हरेक चाडपर्वको आआफ्नै विशेषता हुनु स्वाभाविक छ । कात्तिक तथा चैत महिनाको शुक्ल षष्ठीको दिन छठ पर्व मनाइन्छ । यसमा छठीमाईलाई जोडेर आराधना गरिनु मानिस र प्रकृतिबिचको अनुपम सम्बन्धलाई प्राचीनकालदेखि नै दिएको महत्वको गहन अध्ययन हुन सक्छ । पूर्वीय मान्यतामा अनेक चाडपर्व तथा विधिविधानको जरो वेदसँग जोडिएका छन् । चार वेदमध्येको अन्तिम वेद अथर्ववेदसँग सूर्योपनिषद् जोडिएको मानिन्छ । सूर्य सृष्टिको ब्रह्मासँग जोडिँदा सूर्यको उपासना र स्तुति प्राणी उत्पत्तिको आदिभौतिक रहस्यको खोजी स्वाभाविक हो । पञ्चतत्व मानिने आकाश, वायु, भूमि, जल र तेजमै विज्ञानले अन्वेषण गरी संसारलाई आधुनिकीकरण गरेको छ । विज्ञानको विकास नहुँदा हाम्रा सांस्कृतिक परम्पराले जीवनलाई जगत्सँग जोड्दै प्राकृतिक सन्तुलन कायम गरेका थिए । छठका अवसरमा नदीतलाउ सरसफाइ त्यस दिन मात्र सफा गर भनेको नभई नदीतलाउ सधैँ सफा राख्दा मानव स्वास्थ्यलाई दिने लाभको ज्ञान हुन सक्छ ।

छठलाई कठिन व्रत भनिन्छ । यसमा कुनै कर्मकाण्डीय मान्यता र विधि छैन । परिवारको मूली खास गरी महिलाले १५ दिन अघिदेखि खानपानमा सात्विक भई छठप्रति निष्ठा जनाइने स्वविधि छ यसमा । सात्विक भोजनले सत्यको आराधनामा सहयोग गर्छ । सही सात्विक भोजनले मानिसको ज्ञान शक्तिलाई आफू र परिवारको साथमा राख्न सक्छ । परिवारै शान्तिको मार्गमा बहुआयामिक रूपमा अगाडि बढ्न सक्छ । तामसिक भोजन रोगको घर मात्र होइन, घरपरिवारको अशान्तिको कारण बन्न सक्छ । छठमा प्रयोग हुने खानपान सात्विक अनि बढी त फलफूलकै प्रयोग हुन्छ । यसले परम्परागत कृषि अर्थतन्त्रलाई बजारसित जोड्ने कर्मलाई पनि निरन्तरता दिएको हुनु पर्छ । अहिले पनि छठका अवसरमा कृषि उपजको बजारीकरणले आय, उत्पादन र रोजगारी बढाएको छ । व्रतसँग अर्थ 

जोडिएको छ ।

छठमा उदाउँदो सूर्य मात्र होइन, अस्ताउँदो सूर्यको समेत पूजा हुन्छ । अर्घ दिइन्छ । यसको सन्देश अलग तवरले पनि बुझ्न सकिन्छ । आज कमजोर सधैँ कमजोरै हुन्छ भन्ने छैन । आज अस्ताएको सूर्यले भोलि बिहानै अन्धकार चिर्दै संसार उज्यालो बनाउँछ । सबैको सम्मान गर भन्ने सन्देश पनि छठले दिएको छ । घाट, पोखरी, नदी, तलाउमा गई एक रात त्यहीँ बसेर आराधना गरिनु प्रकृतिसँग नजिक हुने सुअवसर पनि हो । मानिस प्रकृतिबाट आएको र प्रकृतिलाई कहिल्यै नबिर्सने सन्देश पनि हो । पवित्र पर्व छठले सामाजिक र सांस्कृतिक एकता विस्तार गरेको छ । पारिवारिक उन्नयनको व्रत छठले मानव कल्याणको अनन्य आयाम समेटेको बुझ्न सकिन्छ ।