प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक १ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले स्थापना भएको सात वर्षपछि दरबन्दी अनुसार प्रमुख प्रशासकिय अधिकृत पाएको छ । २०७३ सालमा नगरपालिका घोषणा भएसँगै २०७४ मा पहिलो निर्वाचन भएको थियो । त्यस यता दरबन्दी अनुसारको कार्यालय प्रमुख अर्थात प्रमुख प्रशासकिय अधिकृत नपाएको खाँडाचक्र नगरपालिकाले सात वर्ष ६ महिनापछि प्रमुख पाएको हो ।
शुक्रबार सङ्घीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गते खटाएका उपसचिव पदमबहादुर बुढा क्षेत्री हाजिर भएपछि दरवन्दी अनुसारको कार्यलय प्रमुख प्राप्त गरेको हो । कार्यालयका कर्मचारीले क्षेत्रीलाई स्वागत गर्दै झण्डै सात वर्षपछि दरवन्दी अनुसारको कार्यलय प्रमुख पाएकोमा खुसि व्यक्त गर्नुभएको छ ।
स्टोर शाखामा कार्यरत केपि पाण्डेले तीन महिनाका लागि साहयक प्रमुख जिल्ला अधिकारीमा कार्यरत देवेन्द्र श्रेष्ठ कार्यालय प्रमुख भए पनि त्यस यता नगरपालिका निमित्तकै भरमा सञ्चालन भइरहेको थियो । दरबन्दी अनुसारको प्रमुख आउनुभएपछि अब नगरपालिका भित्रका सबै कामले गति लिने विश्वास उहाँको छ ।
दरबन्दी अनुसारको कार्यालय प्रमुख हुँदा हरेक काममा सहज हुने र कुनै कानुनी झनझट नहुने पाण्डेको भनाइ छ । पदमबहादु बुढा क्षेत्री यस अघि लोकसेवा कार्यालय कर्णाली प्रदेशमा कार्यरत हुनु हुन्थयो । स्वास्थ्य समस्याका कारणले सरुवा लगतै हाजिर हुन नसकेको क्षेत्रीको भनाइ छ ।
यता निर्वाचित स्थानीय सरकारले दरबन्दी अनुसारको कार्यालय प्रमुख ल्याउन नसक्दा कामकाज प्रभावित हुँदै आएको थियो । गत भदौमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका कर्मचारी केही सरुवा भएको ठाउँमा हाजिर भए पनि केही अझै गएका छैनन् । ऐनले सरुवा भएको २१ दिन भित्र बजबुजारत गरेर रमना लिनुपर्ने उल्लेख छ । तर कर्मचारी भने बसेकै ठाउँबाट अन्य जान भने मान्दैनन ।