• ७ मंसिर २०८१, शुक्रबार

प्लेन चार्टड गरी चिनिया खेलाडी पोखरामा

blog

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनिया टोली । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २२ गते । शनिबार पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन चार्टड विमानमार्फत् एक सय ३४ सदस्यीय चिनिया टोली बिहीबार दिउँसो पोखरा आइपुगेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ दिउँसो २ बजे अवतरण गरेको हो । टोलीमा चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुना छन् ।

चीनको कुनमिङबाट पोखरा आएको विमान बिहीबारै फिर्ता भइसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले विमान दुई बजेर ४० मा अवतरण हुने तालिका भए पनि निर्धारित समयभन्दा अघि पोखरा आइपुगेको जानकारी दिनुभयो । 

सिचुवानको न्यारोबडी एयरबस ३१९ दोस्रो पटक पोखरा आएको हो । यहाँ पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने जहाज पनि यही थियो । ड्रागन बोटरेस फेस्टिबलमा सहभागी हुने टोलीलाई लिएर यो विमान गत वर्ष असार ६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो । विमानस्थलमा चिनिया टोलीलाई प्रतियोगिता आयोजक हिमालयन टुरिजम फोरमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

शनिबार हुने अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा हुने छन् । प्रतियोगितामा टिम समूहमा ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने छन् । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार, च्यालेन्ज इन्डिभिजुअलका विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार पाउनेछन् । 

विद्यार्थी तर्फको स्पर्धामा विजेताले ३० हजार जित्ने छन् । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुन बाराहीघाट आएर सकिनेछ । 

चिनिया टोली शुक्रबार बिहान वसुन्धरामा स्पिड सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनीमा पनि सहभागी हुनेछ । शनिबार प्रतियोगितापछि आइतबार विदेशी टोलीले पोखरा र आसपासका पर्यटकीय स्थलहरुका अवलोकन गर्ने कार्यक्रम रहेको हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिनुभयो ।

पोखरामा यसका अलावा इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुँदै आएका छन् । २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म सीमित चार्टड उडानबाहेक आन्तरिक उडानमात्रै भएका छन् ।

अघिल्लो वर्ष भदौ ३ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ड्रुक एयर’ र कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमान आएका थिए । गत वर्षकै मंसिर ७ गते चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको जहाज पोखरा ओर्लिएको थियो ।