• ७ मंसिर २०८१, शुक्रबार

ठुलो केदार मेला प्रारम्भ

blog

केदार मेलामा धामी नाच्दै । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना

मंगलसेन, कात्तिक २२ गते । लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ । 

‘जामाको जात्रा’ नामले प्रख्यात उक्त मेलामा देउताको पूजाआजा र धामीको नाच, डेउडा खेलसँगै मेला लाग्ने गर्दछ । कमलबजार नगरपालिका –७ जामा गाउँमा लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताले धेवर लगाई त्रयोदशीका दिन ‘खला नाच्ने’ परम्परा रहेको पुजारी खगेन्द्र उपाध्यायको भनाइ छ । 

“नवौँ दिनका दिन तीन तले ठुला घरबाट छडाल देवताले पानी खाने र बाघ बिरालो हुने गरिन्छ।” उपाध्यायले भन्नुभयो । केदार मेलाको अन्तिम दिन अर्थात् चतुर्दशीको दिन आठ–दश धामी घण्टौँसम्म नाच्ने र राति यस क्षेत्रकै ठुलो र अन्तिम जात्रा हुने गरेको स्थानीय महेन्द्र खतिवडाको भनाइ छ । 

त्यसअघिका आठ दिनमा हरेक दिन देउता काम्ने, पूजाआजा गर्ने र बेलुकी डेउढा समेत खेल्ने प्रचलन रहेको स्थानीय भीम खतिवडाले जानकारी दिनुभयो । तिथिको घटबढको कारण यस वर्ष कार्तिक २८ गते खला नाच्ने र २९ गते केदार माडुमा ह्युम गरिने बताइएको छ । 

छडाल देवताको पूजा भने ३० गते पूर्णिमाको दिन हुने भएको छ । डोटेली संस्कृतिमा आधारित देवता नाचका लागि छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलाली समेतबाट दर्शनार्थीहरु आउने गरेको अर्का स्थानीय भीम खतिवडाले बताउनुभयो । 

केदारनाथ देवताको दर्शन र पूजापाठ गर्दा सन्तान, अन्न र पशुलाभ हुने धार्मिक विश्वास रहेको छ । केदारको मेलाका लागि जिल्ला बाहिर बसाइ रहेका स्थानीय पनि फर्केका छन् । पशु बलि नदिइने यस मेलामा दुध र घ्युको मात्र प्रसाद ग्रहण गर्ने गरिन्छ । 

प्राकृतिक रूपमा पनि उक्त स्थान सुन्दर भएकाले धेरैको रोजाइमा उक्त मेला पर्ने गरेको स्थानीय भीम खतिवडाको भनाइ रहेको छ । सडक पहुँचमा रहेको उक्त स्थानमा पछिल्लो समय देउता पुज्ने, दर्शन गर्न र मेला हेर्नका सङ्ख्यामा हरेक वर्ष वृद्धि भइरहेको बताइएको छ ।