• ७ मंसिर २०८१, शुक्रबार

छठ पूजाका सामग्री छठ घाटमा राखिँदै

blog

जनकपुरधामका पोखरी घाटमा सजाएर राखिएका छठ पूजाका सामग्रीहरु । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक २२ गते । छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री घाटमा राखिएका हुन् ।  

श्रद्धा र आस्थाका साथ सूर्य देवताको उपासनामा समर्पित छठ व्रतालुहरूले सूर्यको उपासनासँगै अस्ताउँदो सूर्यलाई सन्ध्यामा अर्घ दिई छठ मनाउने गर्छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको उक्त पर्वमा विशेष व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सूर्य देवको पूजा गर्नेछन् । 

छठ पर्व विशेष गरी स्वच्छता, अनुशासन र निष्ठाको पर्व मानिन्छ, जहाँ श्रद्धालुहरूले कठोर व्रत, उपवास र नदी तथा तालमा स्नान गरी सूर्य देवताप्रति आस्था प्रकट गर्छन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन गरिनेछ । यो पर्व विशेष गरी मिथिला, तराई–मधेश क्षेत्रमा व्यापक रूपले मनाइन्छ । 


छठ पर्वको अवसरमा जनकपुरधाम लगायत छठ पर्व मनाइने विभिन्न स्थानका नदी, तलाउ र पोखरीमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने नहाय खायदेखि छठ सुरु भएको मानिन्छ, दोस्रो दिन खरना, तेस्रो दिन छठ पर्वको मुख्य दिन जहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन हुन्छ ।