• ५ माघ २०८१, शनिबार

एमाले इलामको जिल्ला प्रतिनिधि छनोट

blog

नेकपा (एमाले) इलाम जिल्ला पार्टी कार्यालय । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, कात्तिक २२ गते । आगामी कात्तिक २९ र ३० गते ११ औँ जिल्ला अधिवेशनका लागि नेकपा (एमाले) इलामले प्रतिनिधि छनोट सम्पन्न गरेको छ ।

एमालेले ८१ वटा वडा कमिटी, २१ वटा जनसङ्गठन तथा पेसागत सङ्गठन, तीन वटा इलाका कमिटी, शाखा कमिटी र एउटा विशेष वडा कमिटी गरी  पाँचसय ८३ जना प्रतिनिधि छनोट गरेको छ । 

प्रतिनिधिका लागि धेरै पार्टी सदस्यहरू इच्छुक देखिएपछि कतिपय वडा र पालिकामा निर्वाचन माध्यमबाट समेत प्रतिनिधि छानिएका छन् । जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई गरी पाँच पदाधिकारीका लागि निर्वाचन हुनेछ । 

यस्तै, बढीमा एकसय २५ जनाको जिल्ला कमिटी गठन हुने एमाले इलामका सचिव उमेश गुरुङले बताउनुभयो । ‘यस पटक युवाहरूको पनि दश प्रतिशत प्रतिनिधित्व हुनेछ, समावेशी, दलित, महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति सबैलाई समेटेर यस पटक जिल्ला कमिटी निर्माण गर्नेछौँ’ सचिव गुरुङले भन्नुभयो ।

‘यस पटक पदाधिकारी र सदस्यमा पनि आकाङ्क्षी धेरै देखिनुभएको छ । सकेसम्म पार्टीका माथिल्लो तहका नेताहरू सर्वसम्मत नेतृत्व चयन गर्न लागि पर्नुभएको छ’ उहाँले भन्नुभयो । 

गुरुङका अनुसार एमालेले २१ वटा जनसङ्गठनलाई समेत अधिवेशनमा प्रतिनिधि पठाउने मौका दिएको छ । यस पटक इलामको अधिवेशनलाई अन्य दलहरूले समेत विशेष महत्वका साथ हेरेको पाइएको छ । 

अन्य जिल्लामा भने यसअघि नै जिल्ला अधिवेशन भइसकेको छ । इलाम–२ को उपनिर्वाचनका कारण एमालेको जिल्ला अधिवेशन पछि धकेलिएको थियो ।