• १९ पुस २०८१, शुक्रबार

जलाशयमा चल्न थाल्यो डुङ्गा

blog

सिँचाइ, मत्स्यपालनका लागि निर्माण गरिएका कृत्रिम जलाशयमा डुङ्गा चलाउन सुरु । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, कात्तिक २२ गते ।
 सिँचाइ, मत्स्यपालनका लागि निर्माण गरिएका कृत्रिम जलाशयहरूमा डुङ्गा चलाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका डुङ्गा खरिद गरी पालिकाले जलाशय रहेका वडाहरूलाई डुङ्गा हस्तान्तरण गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा रहेको गौरीगाउँ जलाशय मत्स्यपालनका लागि निर्माण गरिएको थियो । वडाध्यक्ष यमराज केसीले जलाशयमा डुङ्गा सञ्चालन गरेसँगै दैनिक एक सय भन्दा बढी आन्तरिक पर्यटकहरू घुम्न आउने गरेको बताउनुभयो । डुङ्गा सञ्चालन पूर्व दैनिक २०/२५ जना आउने उहाँको भनाइ  छ । 

यसैगरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा रहेको कात्तिके जलाशयमा समेत डुङ्गा सञ्चालनका लागि अन्तिम तयारीमा रहेको वडाध्यक्ष भीमबहादुर योगीले बताउनुभयो । उहाँले जलाशय गहिरो भएका कारण डुङ्गा सञ्चालनका लागि दक्ष जनशक्ति र आवश्यक सामग्री तयारीसँगै सुरु गरिने बताउनुभयो ।

वडा नम्बर १८ रानी सामुदायिक वन क्षेत्रमा रहेको जलाशयमा समेत डुङ्गा सञ्चालनमा ल्याउन थालिएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । उहाँले सिँचाइ र वन क्षेत्रमा रहने जीवजन्तुका लागि गर्मीयाममा पानी पिउने उद्देश्यले बनाइएको जलाशयमा ढुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षणको केन्द्रकारुपमा विकास गरिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर २, १० र १८ नम्बर वडालाई डुङ्गा हस्तान्तरण गरेको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको शान्ति उद्यानमा समेत डुङ्गा हस्तान्तरण गरेको पालिकाले जनाएको छ । राप्ती शान्ति उद्यान समितिका अध्यक्ष डिल्लीराज भण्डारीले ढुङ्गा सञ्चालन गरेसँगै पर्यटकहरू बढेको बताउनुभयो ।

उहाँले एक पटक ढुङ्गामा चढेबापत प्रति व्यक्ति ५० रुपियाँ शुल्क निर्धारण गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले जलाशयहरूलाई पर्यटनको रूपमा विकास गर्नका लागि पालिकाभित्र निर्माण गरिएका जलाशयहरूमा क्रमशः डुङ्गा हस्तान्तरण गर्दै जाने बताउनुभयो ।