आर्थिक सर्वेक्षणका अनुसार २०८० साल फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ । २०८० फागुन मसान्तमा ईपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गए । दैनिक करिब २५ सयको हाराहारीमा श्रमशक्ति र अब्बल प्रतिभा अन्य मुलुकमा रोजगारी वा अवसर र अध्ययनका लागि रहर वा बाध्यताले जान विवश छन् । एकातिर वृद्ध भएका बाबाआमा एक्लो हुँदै गएका छन् । नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीले लिनुपर्ने अध्ययन अनुमतिको सङ्ख्या बढ्दै गइरहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार २०७९/ २०८० मा वैदेशिक अध्ययन अनुमतिपत्र लिनेको सङ्ख्या एक लाख २५ हजार चार सय थियो । २०८०/२०८१ को फागुन मसान्तसम्म यो सङ्ख्या ९० हजार १६९ रहेको छ ।
वैदेशिक अध्ययनका लागि प्रमुख गन्तव्य मुलुक जापान, क्यानडा, अस्ट्रेलिया, अमेरिका, कोरिया, भारतलगायतका मुलुकमा गएको देखिन्छ । श्रमलाई पसिनासँग साटेर परिवारको खुसी खोज्न ७५ प्रतिशत अदक्ष जनशक्ति कतार, मलेसिया, साउदी अरब, युएई र कुबेतमा जान बाध्य छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार देशमा भित्रिएको रेमिट्यान्सले करिब कुल गार्हस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान त दिएको छ । अनुत्पादक क्षेत्रमा प्रयोग भएको छ । देशमा बाँकी रहेको युवा शक्ति पनि शिक्षा र अवसरको खोजीमा सहर पसेको छ । विदेशबाट प्राप्त भएको रेमिट्यान्स जग्गा खरिदमा उपयोग भएको छ । ज्येष्ठ नागरिक गाउँ घरमा सन्तान आउने आशामा घर कुरेर बसेका छन् । हिजको संयुक्त परिवार, आज एकात्मक परिवारमा रूपान्तरण हुँदै गएको छ । परिणाम स्वरूप आजभोलि गाउँघरका फलैचा र चौतारीमा मान्छे भेटिँदैनन् । बाबु आमाको मृत शरीर अन्तिम दाह संस्कारका लागि छोरा छोरीको बाटो कुरि बस्नुपर्ने अवस्था दिन प्रतिदिन भयावह हुँदै गएको छ ।
अर्कोतिर सम्पत्तिकै नाममा बाबा, आमामाथि हिंसा र दुव्र्यवहार गर्नेको सङ्ख्या पनि दिन प्रति दिन बढ्दो क्रममा छ । कृतिम बौद्धिकतामा रमाएको मानिस आजभोलि दया, माया, करुणा, सदभाव, प्रेम, सहयोग सबै भुली यान्त्रिक भइसकेको छ । जिजु हजुरबुबा, आमाको लोहरी सुनेर निदाउने हिजका नाति नातिनी आज आफ्नै हजुरबा आमालाई नचिन्ने अवस्था बन्दै गएको छ । वैदेशिक रोजगारीमा परिवारको खुसी र समृद्धि खोज्ने हिँडेका छोरा, छोरी उतै घरजम गरी स्वदेश फर्कन नसक्ने गरी लोनको दल दलमा फसेका छन् । बा, आमाहरू पाखोबारी र गाउँघर कुरेर बसेका छन् । नाति नातिनी देख्न, भेट्न र चिन्न पाएका छैनन् । नाति नातिनी आफ्नो हजुरबा आमाको नेपाली भाषा नबुझ्ने यहाँको वातावरणमा बस्न नसक्ने भइसकेका छन् ।
देशमा फर्किएर आउन घर, गाडी सबै सुविधा लोनमा लिएको हुन्छ त्यो लोन तिर्दा तिर्दै जीवन उतै बित्छ । हिजोको संयुक्त परिवार अवसरको खोजीमा गाउँबाट सहर, सहरबाट वैदेशिक क्षेत्र हुँदै एकात्मक परिवारमा रूपान्तरण हुँदा अनुभव, ज्ञान र सिपका पुन्ज सहाराविहीन र एक्लो हुँदै गएका छन् । पुराना पुस्ताको ज्ञान, अनुभव, सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र सम्मानित, मर्यादित गुणस्तरीय मानव जीवनका लागि जोड दिने नीति भए पनि व्यवहारमा परिपालना हुन सकेको छैन ।
ज्येष्ठ नागरिक दया, माया, सद्भाव र सम्मानको भोको हुँदै गएका छन् । रोजगारी र अवसरकै खोजीमा गाउँघरमा युवा रित्तिएका कारण सुनसान छन् उता भेडा बाख्रा जस्तै गरी श्रम बेचिरहेछ । श्रम बेचेर रेमिट्यान्स भित्र्याउने मुलुक उल्टो गतिमा हिँडेको छ । कुनै समय नेपालमा युवाको अभावमा अन्य मुलुकका युवाको माग गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
जल, जमिन, जङ्गल, प्रविधि, जडीबुटी, कृषि, उद्योगलगायत क्षेत्रमा बढीभन्दा लगानी गर्नु पर्छ । हातमुख जोर्न र परिवारको खुसी खोज्नका लागि पलायन भएको युवाशक्ति राज्यले फर्काएर एक गाउँ एक उत्पादन, श्रमको सम्मान राष्ट्रको अभियान, रोजगारी प्रवर्धन दशक र प्रधानमन्त्री रोजगारलगायतका कार्यक्रम अझ प्रभावकारी बनाएर लैजानु पर्छ । जनशक्तिलाई फर्काउन सके आफ्नै माटोमा सुन फलाउने अवसर साबित गर्न सकिन्छ । तब मात्र सबैको परिवारमा खुसी छाउनुका साथै सम्मृद्ध राष्ट्र निर्माणको सपना पनि पूरा हुने छ ।
विकासका मूलधारमा पछाडि रहेको वर्ग, जातिभित्रको अन्तरविविधता र अन्तरक्षेदीकरणको सम्बोधन गरी देशको धरोहर युवाशक्तिलाई देशमा बढीभन्दा बढी उपयोग गरी मानव पुँजीमा रूपान्तरण गर्नु पर्छ । अन्य मुलुकमा रहेको युवाशक्तिलाई फर्काउने, वैदेशिक रोजागरीमा जान स्वीकृत लिएको युवाशक्तिलाई रोकी राज्यले आफ्नो गाउँ आफैँ बनाऊ, श्रमको सम्मान राष्ट्रको अभियान, रोजगारी प्रवर्धन दशकलगायत कार्यक्रममा विशेष आकर्षणको सहुलियत र सुविधा दिएर फर्काउन सके आफ्नै माटोमा सुन फलाउने अवसर साबित गर्न सकिन्छ । उमेर ढल्दै जाँदा पारिवारिक माया, स्नेह, उचित स्याहार सुसार, मायाममता सम्मानको खाँचो भएका एक्ला वृद्ध बाआमाको चाहुरिएका मुहारमा खुसीका किरण आउने छन् । नाति नातिनीले हजुरआमा हजुरबुबाका लोहरी, अनुभवका कथा, ज्ञान, अनुभव र सिप सिक्ने अवसर प्राप्त गर्ने छन् । वृद्धवृद्धाको एक्लोपनको निराकरण गर्न तीनै तहका सरकार गम्भीर र संवेदनशील भएर आफ्ना नीति, योजना, कार्यक्रममा जोड दिन जरुरी छ । सरोकारवाला निकायले ज्येष्ठ नागरिकको बढ्दो एक्लोपनाप्रति संवेदनशील हुनै पर्छ ।