• २७ पुस २०८१, शनिबार

आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य : नेता श्रेष्ठ

blog

वालिङमा भएको कार्यक्रममा बोल्नुहुँदै कांग्रेस नेता श्रेष्ठ । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक २१ गते । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता श्रेष्ठले आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य रहने स्पष्ट पार्नुभयो । धेरै दलहरू जोडेर सरकार बनाउनु पर्दा निरन्तर अस्थिरता आइरहेको उहाँको भनाइ छ ।

स्थिरताका लागि गरिएको कांग्रेस–एमालेको सहकार्यलाई केही दलहरूले नरुचाएको भन्दै नेता श्रेष्ठले कार्यकर्तालाई सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूको व्यवहार राम्रो नभएको भन्दै नेता श्रेष्ठले आफ्ना नेताहरू पक्राउ पर्दा आफूहरूले कहिले पनि विरोध नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आरोप लागि सकेपछि अनुसन्धान गर्न त पाउनु पर्‍यो नि ।” दोषी भए रवि लामिछाने कारबाहीमा पर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश सभापति महेश भट्टराई, कांग्रेस क्षेत्रीय सभापति दिलिपप्रताप खाण लगायतले कांग्रेसले अब गर्नुपर्ने कामहरूका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।