• २७ पुस २०८१, शनिबार

गैर सरकारी महासङ्घ ताप्लेजुङमा सुवेदी

blog

गैर सरकारी महासङ्घ नेपाल ताप्लेजुङको नवगठित कार्यसभिति । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङस्थित गैर सरकारी संस्था महासङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले खड्गविक्रम सुवेदी अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

गैसस महासङ्घ जिल्ला शाखाको अध्यक्षमा सुवेदी दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा प्रजिन हाङ्बाङ, सचिव मणिशङ्कर पोमु, सहसचिव मात्रिकादेवी प्रसाईँ र कोषाध्यक्षमा खगेन्द्र नेपाली चयन हुनुभएको छ । 

यस्तै, सदस्यमा दिलकुमारी लिम्बू श्रेष्ठ, चन्द्र यवागु, रमेश राई, भोलाप्रसाद पौडेल, तिलप्रसाद सुब्बा, तुलसा विक, किरण लिङ्देन र रमेश घिमिरे चयन हुनुभएको निर्वाचन समितिका संयोजक सन्तोष प्रसाईँले जानकारी दिनुभयो । गैसस महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, गैसस महासङ्घका महासचिव अर्जुन भट्टराई, कोशी प्रदेश समितिका पदाधिकारी लगायतको उपस्थिति थियो । अधिवेशन सफलताको शुभकामना दिनुहुँदै प्रदेशसभा सदस्य मेन्याङ्बोले गैसस अब सामाजिक रूपान्तरणको अभियानमा सक्रिय हुनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, महासङ्घका अध्यक्ष सुवेदीले भने उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गैसस सरकारको स्थायी प्रतिपक्ष भएको बताउनुभयो । उहाँले राम्रो काममा गैससले सरकारसँग सुरुदेखि नै सहकार्य गरिरहेको तथा गलत कामका लागि खबरदारी र पहरेदारीको भूमिका पनि निर्वाह गर्दैआएको बताउनुभयो ।