• २७ पुस २०८१, शनिबार

प्युठानमा सराएँ मेलाको रौनक जारी

blog

प्युठान नगरपालिका–७ मा लागेको डल्ले सराएँ मेला । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, कात्तिक २१ गते । 
तिहार सकिएसँगै जिल्लामा अहिले सराएँ मेलाको रौनक छ । तिहारको भोलिपल्टदेखि सुरु हुने सराएँ मेला करिब १५ दिनसम्म विभिन्न ठाउँमा लाग्ने गर्दछ । प्युठान नगरपालिका–७ डल्लेमा भाइटीकाको भोलिपल्ट लाग्ने मेला जिल्लाकै ठुलो मेला मानिन्छ ।

किंवदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुसीयालीसहित त्यस ठाउँमा बर्सेनि भाइटीकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ । नाङ्गो तरबार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समूह जम्मा हुने गर्दछन् । पहिले पहिले पुरुषले मात्र सराएँ नचाउने गरेकोमा अहिले महिलाले समेत सराए नचाउन थालेका छन् । बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै....’ सराएँ नचाउने गरिएको स्थानीय सुशील पोख्रेल बताउनुहुन्छ । “राक्षसी राजाले जनतालाई दुःख दिएको भन्ने किंवदन्ती छ,” उहाँले भन्नुभयो, “राक्षसलाई मारेको खुसीयालीमा जनताले तरबार नचाएर खुसी साटेको भन्ने भनाइ छ ।” स्थानीय जानकार पोख्रेलका अनुसार सराएँ मेलामा प्रदर्शन गरिने सराएँ युद्ध कौशलको रूपमा लिने गरिएको छ ।


मेलामा रमाइलोका लागि विभिन्न स्थानीय नाच समेत देखाउने गरिन्छ । देउसी भैलो, मारुनी नाच समेत प्रस्तुत हुने भएकाले सर्वसाधारणको बाक्लो उपस्थिति रहन्छ । स्थानीय किसान, उद्यमीले उत्पादन गरेका कृषि उपज तथा वस्तुहरूको समेत यी मेलामा किनबेच हुने गर्दछ । जसले गर्दा स्थानीय उत्पादनको बिक्री र बजारीकरणमा सहयोग मिलेको प्युठान उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा लाग्ने यस्ता मेलाले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरूको बिक्री वितरण गर्न सहज बनाएको उहाँको भनाइ छ ।

मेलामा जिल्ला भित्रका मात्र नभएर बाहिरी जिल्लाबाट समेत मानिसहरू आउने गर्दछन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले समेत बजेट छुटाउने र व्यवस्थापन गर्ने काम गर्न थालेका छन् । प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन श्रेष्ठले पालिका भित्रका स्थानीय मेलाको संरक्षण र व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेटसहितको कार्यक्रम बनाउँदै आएको बताउनुभयो ।