• ७ मंसिर २०८१, शुक्रबार

सुन्तलाका बोटमा पहेलै हुने रोग

blog

वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैचामा रहेका बोटमा पहेलोपना । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक २१ गते ।
सुन्तला पाकेर दाना पहेलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोटमा पहेलै देखिने रोग देखा परेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैचामा बोट पहेलो देखिने रोग देखा परेको हो । पौडेलको पौडेल कृषि फर्ममा एक हजार एक सय सुन्तलाका बोट रहेका छन् । बगैचामा रहेका धेरैजसो बोटहरुमा बोट पहेलो हुने रोग देखा परेको पौडेलले बताउनुभयो ।

गत वर्ष करिव चार लाखका सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैचामा रहेका सुन्तलाका बोट  पहेलै हुने रोग देखा परेको र फल लागेका सुन्तला पनि झरेकाले अहिले एक लाखको पनि सुन्तला बिक्री गर्न समस्या हुने आफूलाई लागेको बगैचा हेरालु रामु गिरीले बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले अहिले उक्त बगैचामा सुन्तलाका बोटमा पहेलोपना देखा परेको बताउनुभयो । आफूले उक्त बगैचाको अवलोकन गरेको  बताउनुभयो । बगैचामा गएर हेर्दा बोटका जरा कुहिने रोग देखा परेकाले बोट नै पहेलो भएको उहाँको भनाइ छ । फेदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखा पर्ने गरेकाले ढुसीनासक विषादी प्रयोगको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कतिपय बिरुवाको फेदमा खन्दा वा मलजल गर्दा ध्यान नपुग्दा पनि जरा काटिने भएकाले  मलजल गर्दा उचित ध्यान दिनुपर्ने उहाँको भनाइ छ । त्यहाँका कृषकलाई जम्मा गरेर बगैचा व्यवस्थापन र रोगसम्बन्धी तालिम प्रदान गर्ने गरी कृषि ज्ञान केन्द्रले योजना बनाएको छ ।

यस वर्ष सुन्तला उत्पादन घट्ने वा बढने भन्ने बारेमा बगैचाहरु अवलोकन पश्चात मात्र भन्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा कृर्षकहरुले परम्परागत रुपमा खेती गर्नु, बगैचामा सुक्ष्म तत्त्व , मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरुमा कमी आउनु, विभिन्न रोगहरु देखा पर्नु,सिञ्चाई तथा बोटहरुको काँटछाँटमा कम ध्यान दिनु लगायतका समस्या रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

जिल्लामा गुणस्तरिय बिरुवा उत्पादनका लागि नर्सरी ब्यबस्थापनमा सुधार गर्ने, बिरुवाहरुको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतीमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, जिल्लामा बिजु बिरुवा रोपणको कार्यलाई पूर्ण रुपमा अन्त्य गर्ने गरी कार्यालयले काम गरिरहेको जनाएको छ । यस्तै प्रभावकारी रुपमा रोगकीराको व्यवस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाई, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्दै लाने गरी आफूहरुले योजना बनाएको कार्यालयले जनाएको छ । यसका साथै स्थानीय तहका कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य तय गरेको भण्डारीले बताउनुभयो ।

जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सयभन्दा बढी सुन्तलाका बिरुवा छन् । जसको ६० दशमलव ६ प्रतिशत  अर्थात् दुई लाख ४९ हजार दुई बोटहरुले उत्पादन दिएको छ ।