• १८ पुस २०८१, बिहिबार

मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत

blog

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक।

गणेश खनाल

अर्घाखाँची,कात्तिक २० गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानुहुने भएको छ। मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। 

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित सात सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो। सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ। 

मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा जान लाग्नुभएको छ। यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ। 

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा उच्चस्तरीय भेटवार्ता हुनेछ।

२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबिच भगेनी सम्बन्धी कायम गरिएको थियो। तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले सिचुआन प्रान्तसँग भगिनी सम्बन्ध कायम गर्नुभएको थियो। कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबिच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो।