• ७ मंसिर २०८१, शुक्रबार

भित्र्याउन लागेको धान खेतमै सोत्तर

blog

भानु नगरपलिका–खेतमै रुझेको धान । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ,  कात्तिक २० गते ।
तनहुँमा पाकेको धान खेतमै सोत्तर भएको छ । मुसलधारे वर्षाका कारण किसानले भित्र्याउन लागेको धान खेतमै सोत्तर भएको हो । जिल्लाका दश पालिकामै वर्षाले ठुलो मात्रामा असर पारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सोमबार दिउँसो र राति परेको वर्षाले काटेर खेतमै रहेका अवस्थामा धानबालीलाई पानीले डुबाएको काट्न बाँकी रहेको धान ढलाएको छ ।

व्यास नगरपालिका वडा नम्बर ८ का वडा सदस्य रामप्रसाद मिश्रले रिस्तीफाँट, फाँउदीफाँट, कलेस्तीफाँट लगायतमा किसान काटेर खेतमा राखेको धानबालीलाई नोक्सान पुर्‍याएको बताउनुभयो । मिश्रले भन्नुभयो, ‘‘ठुलापर्व दसैँ र तिहार मनाउने क्रममा रहेकाले अधिकांशले धान थन्क्याउन पाएका थिएनन् असार र साउनको जस्तो मुसलधारे पानी परेकाले ठुलो क्षति पुर्‍याएको छ ।’’

पानी ठुलो परेकाले रिस्ती खोलामा आएको बाढीले कतिपय कृषकको खेतमै राखेको धान बगाएको उहाँले बताउनुभयो । ठुलो मिहिनेत र लगानी गरेको धानबाली भित्र्याउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि किसान निराश भएकोले क्षतिपूर्तिको व्यवस्था गर्नका लागि नगर प्रमुख वैकुण्ठ न्यौपानेसमक्ष भनेको मिश्रले जानकारी दिनुभयो ।


वर्षाले साथ दिँदा शतप्रतिशत रोपाइँ भएकाले जिल्लामा धान उत्पादन बढ्ने अनुमान गरेको अधिकांशले कृषकलाई नोक्सान भएको र क्षति विवरण आउन बाँकी रहेको कृषि ज्ञान तनहुँका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।

परियारले भन्नुभयो, ‘‘पूरा जानकारी आइसकेको छैन, पालिकाहरुलाई कति क्षति भयो विवरण सङ्कलन गर्न भनेका छौं ।’’ परियारका अनुसार तनहुँमा सात हजार छ सय ७४ हेक्टर खेतमा धानबाली लगाइएको थियो । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा मर्का परेको किासानले बताएका छन् । भानु नगरपालिका–२ का दीपक ढकालले भित्राउने बेलाको धान पानीले सोत्तर बनाएकोले मर्का परेको बताउनुभयो ।

ढकालले भन्नुभयो, ‘‘हावाहुरी र वर्षाले गर्दा काट्न बाँकी रहेको धान पनि ढलाएको छ, खेतमा पाँजा लगाएको धान पानीमा डुबेकोले उम्रिन लागेको छ ।’’ भानु नगरपालिका–३ का केशवराज त्रिपाठीले पाकेको धान दाई हालेर थन्क्याउने बेलामा नष्ट हुँदा समस्या परेको  बताउनुभयो ।

त्रिपाठीले भन्नुभयो, “खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिएला जस्तो छ ।’’ सोही ठाउँ निवासी कुलबहादुर बानियाले धान नष्ट गरेकोले निन्द्रा हराएको बताउनुभयो । बानियाले भन्नुभयो, ‘वर्षदिनभरि खाने धान भित्र्याउने बेलामा नष्ट भयो किनेर खानुपर्ने बाध्यता भयो ।’’