• ८ मंसिर २०८१, शनिबार

सुन र नगदका लागि आमाको हत्या

blog

आमाको हत्या आरोपमा पक्राउ परेका रोसी गाउँपालिका–३ का फुर्साङ लामालाई मङ्गलबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक।तस्बिरः केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, कात्तिक २० गते। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले फुर्साङले कात्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको बताउनुभयो। उहाँले घटनाको अनुसन्धानको क्रममा फुर्साङले आमाले लगाएको सुन र पैसा लिनका लागि लोहाेरो, झ्याल र ढोकाको आग्लोले हानेर हत्या गरेको खुल्न आएको बताउनुभयो।

आमाको हत्या गरेर फरार रहेका फुर्साङलाई कात्तिक १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।‘आफूसँग भएको चौध सय रुपियाँबाट काठमाडौँको कोठाको भाडा तिर्न नपुग्ने र आफूलाई चाहिने खर्च नटर्ने भएपछि  खाना खाएर सुतेकी आमालाई लोहाेरोले दुई पटक त्यसपछि झ्यालको आग्लोले हानेको र झ्यालको आग्लो भाँचिएपछि ढोकाको आग्लोले हानेर हत्या गरेको पाइएको छ’, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो।

उहाँले आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको बताउनुभयो।

प्रहरी उपरीक्षक खड्काले घटनाको अनुसन्धान गर्ने क्रममा फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ फेला पारेको बताउनुभयो।