• २६ पुस २०८१, शुक्रबार

टेलिकमको पाइपबाट पानी बगेपछि...

blog

तस्बिर : रासस

चितवन, कात्तिक २० गते । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बिचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले बिछ्याएको पाइपबाट पानी निस्किएको बताउनुभयो । सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ । नत्र तार हाल्न बिछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला ।” टेलिकमको पाइपमा कहाँबाट पानी छिर्‍यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उहाँले बताउनुभयो ।

नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “कहाँबाट पानी छिर्‍याे, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।”

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भन्नुभयो “हामीले दसैँं अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँं, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।” रासस