• ७ मंसिर २०८१, शुक्रबार

मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामै बिजुली उत्पादन

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलधार क्षेत्र । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक २० गते ।
 हिँउदमा पनि पानी परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि पानी प्रशस्त परेपछि उत्पादनमा असर नपरेको केन्द्रले जनाएको छ ।

पानी कम पर्ने समय असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत हाल मुसलधारे वर्षा भएपछि पूर्ण क्षमतामै बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो ।

नदीमा पानीको बहाव बढेपछि कात्तिकमा समेत पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, ‘‘अहिले पानी प्रशस्त परेकाले अझै एक महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको छ ।’’

गत वर्ष सुख्खायाममा हिँउ कम पग्लिने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकोमा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताउनुभयो । तीनवटा युनिटबाट २३-२३ मेगावाटका दरले  पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्रान थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुख्यायाममा भने हिँउ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ ।