• १४ माघ २०८१, सोमबार

अमेरिकी राष्ट्रपतिको मतदान सुरु : मैदानमा ह्यारिस र ट्रम्प

blog

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्प ।

अमेरिका,  कात्तिक २० गते । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचन आज मङ्गलवार हुँदैछ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । 

यद्यपि सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेको समाचारपत्रहरुले जनाएका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो पटक हो । निर्वाचनमा कसले बाजी मार्ने हो र ह्वाइट हाउसको यात्रा तय गर्ने हो भन्ने बारेमा विश्वभर चर्चा र परिचर्चा चलिरहेको छ । यति मात्र होइन, अमेरिकाको राष्ट्रपतिको निर्वाचनले विश्व राजनीति र अर्थतन्त्रमा निकै ठूलो असर पार्ने भएकाले पनि विश्वभरका मानिस अमेरिकाको यो चुनावलाई गहिरिएर हेरेका छन् । 

अमेरिकामा करिब २४ करोड मतदाता छन् । दुवै पक्षका मतदाताहरु ज्यादा उत्साहित भएकाले यो पटक हालसम्मकै सर्वाधिक मतदान हुने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक पार्टीका तर्फबाट एसियन अमेरिकन मूलकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस (६० वर्ष) र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प (७८) चुनावी मैदानमा उत्रिनुभएको छ । 

तस्बिरः बिबिसी

हुनत यी दु बाहेक लिबरटेरियन पार्टीका तर्फबाट चेज ओलिभर, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन, कन्टिच्युसन पार्टीका तर्फबाट र्याण्डल टेरी र जस्टिस फर अल पार्टीका तर्फबाट कर्नेल वेष्ट गरी छ जना राष्ट्रपतिको उम्मेदवारका रुपमा रहनुभएको छ । तर पछिल्ला चारजनाको उम्मेदवारी केवल पार्टीको नामका लागि मात्र रहेको बताइन्छ ।

उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमध्ये विश्वको ध्यान केन्द्रित यो निर्वाचनमा कसले बाजी मार्ला त ? यो प्रश्नले विश्व भूराजनीति तरङ्गित भइरहेको छ । सोमवार साँझसम्म दुवै उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि आआफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलो अभियानमा सक्रिय हुनुभएको थियो । 

उहाँहरु दुवैजनाको दौडधूप अन्यत्रभन्दा पनि खासगरी स्विङ स्टेट अर्थात् डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी दुवैमा संलग्न नभएका तर उम्मेदवारको कार्यशैली र एजेण्डा हेरेर मतदान गर्ने भएकोले यी राज्यलाई स्विङ स्टेट अर्थात् युद्ध मैदान राज्य भन्ने गरिन्छ । 

किनकि यहाँका मतदाता अनिर्णित मतदाता हुन् । यी सातवटा राज्यका मतदाताले राष्ट्रपतिको निर्वाचनको परिणामलाई उलटफेर गर्नसक्छन् । किनकि यिनीहरुले कहिले डेमोक्रेटिक पार्टीलाई त कहिले रिपब्लिकन पार्टीलाई सत्तामा पुर्‍याएका छन् । 

यी सातवटा राज्यमा अरिजोना (११), जर्जिया (१६), मिचिगन (१५), नेभाडा (६), पेन्सिलभेनिया(१९), विस्कन्सिन ( १०) र नर्थ क्यारोलिना (१६) हुन् । अरु राज्यको इलेक्टोरल कलेज कसकाे पक्षमा छ भन्ने कुरा भने लगभग पक्का भइसकेको छ । 

स्वतन्त्र पर्यवेक्षक, विश्लेषक र स्वतन्त्र मत सर्वेक्षणले यी दुबीच हालसम्मकै सबैभन्दा बढी घमासान प्रतिस्पर्धा  हुने प्रक्षेपण गरेका छन् भने ज्योतिषीहरुले पनि आआफनो विश्लेषण अनसार कसैले ट्रम्प वा कसैले ह्यारिसले जित्ने ठोकुवा गरेका छन् । 


मतदान प्रत्यक्ष होइन

अमेरिकी राष्ट्रपति जनताको लोकप्रिय मतबाट प्रत्यक्ष निर्वाचित हुँदैनन् । संविधान अनुसार अमेरिकी मतदाताको मतका आधारमा छानिने इलेक्टोरल कलेजले राष्ट्रपतिको निर्वाचनको नतिजा निर्धारण गर्छ । 

कुल ५३८ इलेक्टोरल कजेजमध्ये आधाभन्दा बढी २७० इलेक्टोरल कलेज ल्याउने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुन्छन् । कहिलेकाहीँ धेरै लोकप्रिय मत पाएर पनि २७० इलेक्टोरल कलेज नपाउँदा त्यो उम्मेदवार पराजित हुछ । 

अमेरिकी इतिहासमा यस्तो घटना पाँच पटकसम्म भइसकेको छ । यो इलेक्टोरल कजेज कुन राज्यबाट कतिजना चुनिन्छन् भन्ने कुराको निर्धारण चाहिँ जनसङ्ख्याको आधारमा हुन्छ । उदाहरणका लागि डिलावेर लगायत सातवटा राज्यको इलेक्टोरल कजेज तीनतीन जना मात्र छ भने सबैभन्दा धेरै क्यालिफोर्नियामा ५४ छ । जुन राज्यमा लोकप्रिय मत ल्याएर उम्मेदवार विजयी हुन्छ, त्यो राज्यको सबै इलेक्टोरल कजेज (नेब्रास्का र मेन बाहेक) उसैको पोल्टामा जान्छ ।  

कसकाे एजेण्डा कस्तो छ ?

कमला ह्यारिसले मध्यमवर्गीय व्यक्तिहरुको पक्षमा वकालत गरिरहनुभएको छ । उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउने, महिलाको प्रजनन स्वतन्त्रतालाई कायम राख्ने, कर कम गर्ने, स्वास्थ्य बिमाको पैसा कम गराउने, ठूला व्यापारिक घरानाले गरेको मूल्यवृद्धि रोक्ने र उनीहरुलाई कर पनि बढी लगाउने, पहिलोपटक घर किन्ने मान्छेलाई २५ हजार सहुलियत कर्जा दिनेजस्ता नीति लागू गर्ने बताउनुभएको छ ।

त्यसैगरी, ट्रम्पले गर्भपतनलाई राष्ट्रव्यापी रुपमा बन्देज लगाउने, ज्येष्ठ नागरिकको सोसल सेक्युरिटीमा कर हटाउने, दक्षिणी सीमामा पर्खाल लगाउने, आपराधिक चरित्रका मानिस र लागू पदार्थको कारोबारीलाई देशनिकाला गर्ने, ऊर्जा प्रवर्धनमा जोड र ग्यासको भाउ घटाउने आदि छन् । त्यस्तै उहाँले वैदेशिक नीति, अर्थतन्त्र र सीमा सुरक्षालाई कडाइका साथ लागू गर्ने बताउनुभएको छ । 

त्यस्तै ह्यारिसले आफ्नो चुनावी एजेण्डामा ट्रम्पलाई प्रहार गर्नुभएको छ । ट्रम्प कडा शासक हुने भएकाले अमेरिकाको प्रजातन्त्र र मानवाधिकारमाथि वज्रपात हुने अनुमान गर्नुभएको छ । 


त्यसैगरी, ट्रम्प वर्तमान सरकारप्रति कठोर रुपमा प्रस्तुत हुनुभएको छ । उहाँले वाइडेन र ह्यारिसको कार्यकालमा मुद्रास्फीति ९.१ प्रतिशतले घटेको, दैनिक उपभोग्य वस्तुको भाउ अत्यधिक बढेको, भाडा, मोर्गेज दर र यातायातको साधनको भाउ निकै उच्च बिन्दुमा पुगेको, वाइडेन ह्यारिसको कार्यकालमा अमेरिका धेरै कमजोर देखिएको, अफगानिस्तान, इरान तथा रुस र युक्रेन तथा इजरायल र हमासबीचको युद्ध रोक्न नसकेको आरोप लगाउनुभएको छ । 

सबैको नजर पेन्सिलभेनियामा ?

पेन्सिलभेनिया स्विङ स्टेट हो । पेन्सिलभेनियाको कुल १९ इलेक्टोरल कलेज जसले हात पार्छ, त्यसैले ह्वाइट हाउसको मार्ग प्रशस्त गर्छ भन्ने भाष्य सिर्जना भएको छ । हुन पनि स्विङ स्टेटहरुमध्ये सर्वाधिक इलेक्टोरल कलेज भएको यो राज्यमा अहिले दुवै उम्मेदवारले सोमवार आफ्नो अन्तिम र्‍याली तथा आमसभा सम्पन्न गर्नुभएको छ । दुवै उम्मेदवारले आफूले जित्ने दाबी गर्नुभएको छ ।  दुवैको सम्भावना उत्तिकै बलियो छ । यद्यपि पेन्सिलभेनियामा ट्रम्पको हत्या प्रयास भएको कारण पनि केही मतदाताको सहानुभूति मत पनि ट्रम्पले पाउने सम्भावना छ । 

मतदानका क्रममा डेमोक्रेटिक पार्टीका मतदाताले अग्रिम मतदानमा बढी सहभागी भएको र रिपब्लिकन पार्टीका मतदाताले भने निर्वाचनकै दिन ज्यादातर मतदान गर्ने बताइन्छ । 


अमेरिकी निर्वाचनमा महिलाहरुको भूमिका पनि बढ्दो छ । करिब ५३ प्रतिशत महिला मतदाता रहेको परिप्रेक्ष्यमा महिलाहरुले धेरै विश्वास गरेर मतदान गरे भने कमला ह्यारिसको पोल्टामा निर्वाचन जाने निश्चितप्रायः छ । उता करिब ४० प्रतिशत श्वेत मतदाता रहेको यस पटकको निर्वाचनले २०१६ मा जस्तै ट्रम्पलाई सेतो घरको साँचो सुम्पिने पो हो कि भन्ने अनुमान पनि अर्कोतिर छ । यी सातवटा स्विङ स्टेटमध्ये ह्यारिसले जितका लागि पेन्सिलभेनिया, मिचिगन र विस्कन्सिन जित्नैपर्नेछ भने ट्रम्पले नर्थ क्यारोलिना, अरिजोना र पेन्सिलभेनियाको इलेक्टोरल कलेज पाउनुभयो भने जित्ने सम्भावना प्रबल रहन्छ । 

यो पनि पढ्नुहोस

ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।