• २४ मंसिर २०८१, सोमबार

गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक

blog

बैतडी समाचारदाता 

बैतडी, कात्तिक २० गते ।  खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् । सरकारले ७८ करोड रुपियाँ खर्च गरेर सडक पु¥याएपछि दुर्गम गाउँमा गाडी देख्नेबित्तिकै प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेर बसेकी २० वर्षीय रविना चन्द (रुबी) सार्वजनिक सवारी चलाउने जिल्लाको पहिलो महिला सवारीचालक बन्नुभएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् । 

पञ्चेश्वर गाउँपालिका–४, निङ्लाडकी २० वर्षीय रुबी चन्द (रविना) पालिकादेखि प्रदेश राजधानीसम्म सार्वजनिक यातायात चलाउँदै आउनुभएको छ । रुबी वैधानिक हिसाबले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेर  सार्वजनिक यातायात चलाउने सवारीचालक बन्नुभएको हो । पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी वहन गर्न यो पेसा थाल्नुभएको हो । रुबीले चलाउँदै आएको म.१ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर हिँड्ने गरेको छ ।  

पाटन–पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएपछि अहिले पञ्चेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्न थालेका  छन् । सडक पुगेपछि यहाँ अहिले दैनिक १०/१५ वटा सवारीसाधन चल्ने गरेका छन् । तीमध्ये रुबी एक्ली महिला सवारीचालक बन्नुभएको छ । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारीचालक अनुमतिपत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभवन सुनाउनुभयो । अनुभव सुनाउँदै रुबीले भन्नुभयो, “टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोइ भन्छन्,  मै हो ड्राइभर भन्दा आममानिस पत्याउँदैनन् । बैतडीबाट धनगढी जाँदा बाटोमा सवारी जाँच गर्ने ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेको अनुभव उहाँले सुनाउनुभयो ।” उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र ओल्टाइपल्टाई  हेर्छन् । विश्वास नलागेर होला, मेरो फोटोसमेत खिचेर राख्ने गरेका छन् ।”