• २१ मंसिर २०८१, शुक्रबार

बढ्यो ढाकाका सामग्रीको व्यापार

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक २० गते । तिहार पर्वमा ढाकाका कपडाबाट बनेका सामग्रीको व्यापार बढेपछि व्यवसायी उत्साहित बनेका छन् । अन्य समयभन्दा तिहारका बेला ढाकाको कपडाबाट बनेका सामग्रीको व्यापार उच्च रहेको व्यवसायी बताउँछन् ।

तिहार पर्वमा ढाकाका कपडाबाट बनेका सामग्री कोसेली दिने प्रचलन छ । यसले तिहारमा ढाकाबाट बनेका सामग्रीको उच्च कारोबार हुने गरेको पाल्पाका ढाका व्यवसायीको भनाइ छ ।

भाइटीकामा ढाकाबाट बनेका टोपी, पर्स, कुर्ता सुरुवाल, इस्टकोट, कोट, सारी, पछ्यौरी, झोला कोसेलीका रूपमा दिदीबहिनीले दाजुभाइ र दाजुभाइले दिदीबहिनीलाई दिने प्रचलन छ । भाइटीका लगाएपछि कोसेलीका रूपमा ढाकाबाट बनेका सामान दिने प्रचलन बढ्दै जाँदा तिहार पर्वमा ढाकाको व्यापार चार गुणाले बढेको तानसेनका व्यवसायी बताउँछन् । 

स्वदेशमा उत्पादन भएको गुणस्तरीय कपडाबाट बनेको सामान उपहार दिँदा दिने र लिनेले पनि गर्वको महसुस गर्छन् । छ दशकअघिदेखि पाल्पामा उत्पादन भएको ढाकाको कपडा अब आफन्तलाई उपहारका रूपमा दिने सामग्री बनेको पाल्पा ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले बताउनुभयो । तिहारमा सबैभन्दा बढी पछ्यौरी, टोपी र हाते पर्स बिक्री हुने गरेको छ । वर्षभरिमा गर्ने व्यापार तिहारमा एकै पटक हुने गरेको तानसेनस्थित मदनपोखरा ढाका उद्योगकी सञ्चालक सितम भण्डारीले बताउनुभयो । 

ढाकाको सामग्री जिल्लाभित्र मात्र होइन, बाहिरी जिल्लामा पनि माग उच्च रहेको छ । पाल्पासहित रुपन्देही, पोखरा, भैरहवा, काठमाडौँ, चितवन, दाङ जिल्लामा पनि पाल्पाली ढाकाको माग उच्च रहेको व्यवसायी बताउँछन् । तिहारलाई ध्यानमा राखी  जिल्लाबाहिर पनि ढाकाबाट बनेका सामग्रीको माग उच्च रहेको पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलले बताउनुभयो । पछिल्लो समय ढाकाबाट टोपी र पछ्यौरी मात्र होइन अन्य सामग्रीसमेत बनाउन थालेपछि यसको माग बढेको उहाँले बताउनुभयो । 

जिल्लामा १० भन्दा बढी ढाकाको कपडा उत्पादन गर्ने उद्योग रहेका छन् । हाते तानबाट बनेका ढाकाका कपडाको माग बढेपछि यस्ता उद्योगको सङ्ख्या पनि बढ्दै गएको पौडेलले बताउनुभयो ।