• २७ पुस २०८१, शनिबार

त्रिशूली–चिलिमे प्रसारण लाइन तयार, चीन निर्यात गर्न सहज हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । त्रिशूली नदी र त्यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने २२० केभी क्षमताको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नेपाल–चीनबिच विद्युत् व्यापारका लागि समेत यो प्रसारण लाइन प्रयोग गर्ने सरकारको योजना छ । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

दसैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटेर बर्सौंदखि उल्झनमा पर्दै आएको प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेजानकारी दिनुभयो । 

उहाँका अनुसार प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा बनेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि बलियो पूर्वाधार तयार भएको उल्लेख गर्नुभयो । रसुवागढी र सान्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् ।

“जोखिमयुक्त र कठिन हिमाली क्षेत्र सडक नपुगेको तथा ढुवानीका लागि खच्चड प्रयोग गर्नुपर्ने जस्तो जटिलतादेखि वन क्षेत्रको उपयोग, स्थानीय अवरोध, कोभिड महामारी जस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “चीनसँगको विद्युत् व्यापारका लागि प्रस्तावित चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन यही प्रसारण लाइनमा जोडिने भएकाले यो पूर्वाधार चीनसँग जोडिन महत्व राख्छ ।” 

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्री बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौँको मातातीर्थसम्मको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुने छ । सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुने छ । 

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि दुई हजार छ सय मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था रहेकामा त्यहाँ पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । 

आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले बताउनुभयो । थापाले खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरण ढुवानी गरी नौ वटा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी दुइटा टावर निर्माण गरिएको उल्लेख गर्नुभयो ।  

अनुमानित लागत तीन अर्ब  ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैङ्क (केएफडब्लु) को अनुदान रहेको छ । युरोपेली सङ्घले स्थापना गरेको युरोपेली लगानी बैङ्क (इआइबी) को आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ ।