• २७ पुस २०८१, शनिबार

साङ्गठनिक रूपान्तरण अभियानमा कांग्रेस

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, कात्तिक २० गते । नेपाली कांग्रेसले साङ्गठनिक सुधारलाई दृष्टिगत गरी भ्रातृ संस्थाको महाधिवेशन तयारी र विभाग गठन कार्य अन्तिम चरणमा पुर्‍याएको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक सुदृढीकरण, आन्तरिक एकता र रूपान्तरणको नवीनतम ढाँचा तयार गरी भ्रातृ संस्थाको महाधिवेशन र विभागलाई पूर्णता दिने कार्य भइरहेको जानकारी दिनुभएको हो । 

उहाँले भन्नुभयो, “साउन २३ देखि भदौ १६ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको निर्वाचनपूर्व चुनावी तालमेल नगर्ने र एकल बहुमत ल्याउने गरी साङ्गठनिक संरचनालाई नवीन रूपान्तरण गर्ने प्रस्ताव अनुसार पार्टीसँगै भ्रातृ संस्था र विभागका काम प्रभावकारी बनाउने उद्देश्यले नै सबै संरचनालाई पूर्णता दिने काम भइरहेको छ ।”

नेपाली कांग्रेसका नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घसहित १३ वटा भ्रातृ संस्था छन् । त्यसै गरी ६९ वटा विभाग रहेका छन् । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ५५ वटा विभागको प्रमुख तोकिएको छ । उहाँले भन्नुभयो, “१४ वटा विभागको प्रमुख तोक्न बाँकी छ । प्रमुख तोकिएका विभागमा सदस्य मनोनयनको काम पनि सँगसँगै अघि बढाइएको छ । जिल्ला कार्यसमितिलाई पनि विभागका सदस्य सिफारिस गर्न पत्राचार गरिएको छ । यो काम चाँडै सकिन्छ ।”

उहाँका अनुसार अधिकांश भ्रातृ संस्थाले पूर्णता पाइसकेको छन् । तरुण दल, महिला सङ्घ र विद्यार्थी सङ्घको महाधिवेशन चैतभित्र सम्पन्न गर्न निर्देशक समिति गठन गरेर तयारी थालिएको छ । कांग्रेसका शुभेच्छुक संस्था २६ वटा छन् तर शुभेच्छुक संस्थालाई पार्टीले कुनै विषय हस्तक्षेप गर्दैन । अभियान पनि सँगसँगै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार २०८१ असोज १ गतेदेखि पुस १० गतेसम्म सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने तय भएको थियो । असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछिको बाढीपहिरो र डुबानका कारण अभियान स्थगित भएको छ । मुख्यसचिव पौडेलले भन्नुभयो, “हिमाली जिल्ला अभियान सञ्चालन भइरहेको छ । पहाड र तराई/मधेशका जिल्लामा छठ पर्वपछि अभियान सुचारु हुन्छ । अभियान प्रभावकारी रूपमा अघि बढ्छ ।”

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीका सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्र बनाउन साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय भए अनुसार केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा खटिने छन् । उहाँले भन्नुभयो, “कांग्रेसभित्र नयाँ जागरण पैदा गर्ने गरी अभियान सञ्चालन गरिने छ ।