• ८ मंसिर २०८१, शनिबार

‘हाइटेक’ अपराध अनुसन्धानमा चुनौती

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २० गते । प्रहरीले गत असोज २० गते काठमाडौँको ठमेल (ज्याठा) बाट पाँच जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले चिनियाँ नागरिक झु केकियाङ, वेन झिमेई, ह्वि पेङ, वाङ जिनयु र लिउसुलाई पक्राउ गरी विस्तृत अनुसन्धान थाल्यो ।

प्रारम्भिक अनुसन्धान र बरामद भएका विद्युतीय उपकरणबाट ती चिनियाँ नागरिकले आफू बस्न भनी भाडामा लिएको घरमा विद्युतीय माछा अङ्कित टेबलमा फरक शैली प्रयोग गरी ‘फिस सुटिङ गेम’ तथा नेपालमा बसी युरोपेली र अमेरिकी नागरिकलाई ठगी गर्ने गरेको खुल्यो । त्यसअघि असोज ४ गते अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले अवैध फिस सुटिङ गेम सञ्चालन गर्ने सोनाम तामाङ, जाम्पा खेदुप, नुर्बु साम्देन, दासाङ र वेइ चुनलिनलाई पक्राउ गरेको थियो । त्यसअघि अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक बङ्गलादेशी नागरिक तथा दुई चिनियाँ नागरिकसहित पाँच जना परे ।

नेपालमा प्राविधिक शिक्षाबारे अध्ययन र अनुसन्धान हुने एक मात्र सरकारी निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट अवैध विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी) माइनिङ सञ्चालन गरेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत जेठ १६ गते सिटिइभिटीका ल्याब प्रशिक्षक विश्वास गुरुङ र सूचना प्रविधि शाखामा कार्यरत राजेन्द्र ताहमतालाई पक्राउ ग¥यो ।

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) को सहयोगमा सिटिइभिटीमा स्थापना गरिएको ‘प्राविधिक निर्देशनका लागि प्रशिक्षण संस्थान’ (टिआइटिआई) अन्तर्गतका सूचना प्रविधि ल्यब र सर्भर युनिटमा नै अवैध क्रिप्टो कारोबारको अन्तर्राष्ट्रिय सञ्जाल (माइनिङ) नै सञ्चालन गरेको पाइयो । गत भदौ २६ गते काठमाडौँको तारकेश्वर–१०, मनमैजुबाट पक्राउ परेका आयुष शर्मा र प्रज्ञान रिमालले ५६ करोड ७५ लाख ४१ हजार ९७३ रुपियाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । अनलाइन भुक्तानी सेवा पेवेल र सजिलो–पेमार्फत नेपालमा हुने सुन तस्करीबापतको झन्डै एक खर्ब भुक्तानी भएकोबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजु खत्री, प्रशान्तगणेश बजबलकर, धीरजदिनेश बोइटे, सिद्धार्थअशोक गाएकवाडलगायतलाई पक्राउ ग¥यो । नेपाल राष्ट्र बैङ्क इजाजतपत्र प्राप्त यी दुवै अनलाइन भुक्तानीप्रदायकले रेमिट्यान्सबापतको रकम सुन तस्करीमा पठाउने र नेपालमा बिक्री गरेको अवैध सुनबापतको रकम रेमिट्यान्स प्राप्तकर्तालाई बुझाउने गरेको खुल्यो । यो घटनामा दुई खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबीसहितको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।

पछिल्लो समय नेपालमा उच्च प्रविधिको प्रयोग गरी भएका अपराधका यी केही प्रतिनिधि घटना मात्र हुन्, उच्च प्रविधिको प्रयोग गरी अपराधका घटनामा दैनिक गुणात्मक वृद्धि हुन थालेपछि प्रहरी अनुसन्धान नै थप चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकभर उच्च प्रविधिको प्रयोग गरी जम्मा एक हजार ५२१ घटना भएकोमा आव २०८०/८१ मा यस्ता घटनामा झन्डै पाँच गुणा वृद्धि भएर सात हजार ७२२ पुगेको छ ।

उच्च प्रविधिको प्रयोग गरी सबैभन्दा बढी ठगीका घटना बैङ्किङ कारोबार, वैदेशिक रोजगारी, पार्सल तथा चिट्ठाको प्रलोभनमा हुने गरेको छ । नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ पछिल्लो समय ‘हाइपर फन्ड’, ‘पिसिङ लिङ’, ‘ओटिपी कोड’ र ‘फेसबुक ह्याक’ गरी ठगीका घटना वृद्धि भएको बताउनुभयो । उहाँले प्रविधिको दुरुपयोग गरी अनलाइन सपिङका नाममा मोबाइल, क्यामरा, कपडा, जुत्तालगायत घरायसी वस्तु र अन्य सामग्री खरिद गर्दा हुने ठगीप्रति आमउपभोक्ता र सर्वसाधारण सचेत हुनुपर्ने बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार कोठा तथा जागिर खोजिदिने प्रलोभनमा पारी, विदेशी नागरिकसँग साथी बन्ने र बहुमूल्य वस्तु तथा विदेशी मुद्रा पठाउने बहाना देखाई राजस्वबापतको रकम पठाउन लगाउने बहानामा र क्रिप्टोकरेन्सी तथा विटक्वाइनलगायत भर्चुअल मुद्रा र अनलाइन जुवाका नाममा हुने ठगीका घटना सबैभन्दा बढी हुने गरेका छन् । त्यसै गरी लोटरी, अश्लील तस्बिरको दुरुपयोग गरी हुने ‘ब्ल्याकमेलिङ’, अनलाइन बैङ्किङ ठगी, अनलाइन सपिङ ठगी, विज्ञापनका नाममा ठगीका घटना वृद्धि भइरहेका छन् ।

प्रविधियुक्त अपराधको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रविधिको तीव्र विकास र त्यसैको प्रयोगमार्फत हुने अपराधका घटना नियन्त्रण गर्न प्रविधिसहितको दक्ष जनशक्ति नै आवश्यक रहे पनि राज्यको भने त्यसतर्फ ध्यान जान सकेको छैन । दातृ निकायले उपहारस्वरूप दिएका केही सीमित प्रविधि र छिटफुट तालिमबाहेक प्रहरीसँग विशिष्ट अनुभव कम छ । प्रविधियुक्त अपराधलाई रोक्ने गरी स्रोतसाधनमा राज्यले विशेष ध्यान दिन नसके घटना वृद्धि मात्र होइन, नियन्त्रण कठिन हुने चिन्ता प्रहरीमा व्यप्त छ । 

एआइजी तामाङले प्रविधियुक्त अपराधका घटना विश्वका जुनसुकै मुलुकमा रहेर पनि नेपालमा हुन सक्ने भएकाले त्यसको रोकथामका लागि आवश्यक प्रविधि र तालिमप्राप्त एकीकृत संयन्त्र आवश्यक रहेकाले त्यसतर्फ विभागले पहल गरिरहेको बताउनुभयो । सूचना प्रविधिप्रदायक, सामाजिक सञ्जाल र अनुसन्धान गर्ने निकायबिचको एकीकृत सञ्जाल र कल डिटेल रेकर्डको सिधा पहुँच प्रहरीले पाउने व्यवस्था भए पनि यस्ता घटना तत्काल रोकथाम गर्न सहज हुने तामाङले बताउनुभयो ।