• २७ पुस २०८१, शनिबार

एक लाख पचास हजार नगदसहित १४ जना जुवाडे पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँके ।

सिराज खान 

नेपालगन्ज, कात्तिक १९ गते । एक लाख पचास हजार नगदसहित १४ जना जुवाडेलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका १४ जना जुवाडेलाई सोमबार बिहान पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो ।

जुवातास खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले सोमवार विहान करिव साढे १ बजेको समयमा सल्यानीबागस्थित सुवाष तारामी मगरको घरमा छापा मार्दा एक लाख ५४ हजार ८२० रुपियाँ र चार गड्डी तास बरामद गरेको एसपी कार्कीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका ४ का ४० वर्षीय पृतम शाक्य, सोहि ठाउँका ४८ वर्षीय रामबहादुर पाण्डे, ३० वर्षीय सुरज श्रेष्ठ, सोही ठाउँका ४३ वर्षीय बिशालजङ्ग शाही र ४१वर्षीय उमेश सिंहलाई पक्राउ गरेको हो ।

त्यसैगरि, सल्यानीबागका ४२ वर्षीय अर्जुन सुनार, सोही ठाउँका ३० वर्षीय प्रेम सुनार, ४० वर्षीय बुद्धि रसाइली, ४० वर्षीय सुलभ सार्की, ३८ वर्षीय सुबाष तारामी मगर, ४१ वर्षीय रबिन थापा, ४६ वर्षीय लोकेन्द्र श्रेष्ठ, ४४ वर्षीय शरद श्रेष्ठ र सोही ठाउँका ४७ वर्षीय प्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको एसपी कार्कीले बताउनुभयो ।

प्रहरीले यसअघि जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपियाँसहित तीन दर्जन बढी जुवाडेहरु पक्राउ गरिसकेको छ ।

जुवातास नियन्त्रणका लागि बिशेष अभियान चलाएको प्रहरीले तदारुकताका साथ अभियान थालेपछि जुवाडेहरु धमाधम पक्राउ परेका छन् । ‘जुवातास नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गरि सूचना लिने र छापा मार्ने काम जारी छ,’ एसपी, कार्कीले भन्नुभयो ।

प्रहरी सक्रियताकै कारण यस वर्ष विगतका वर्षहरुभन्दा धेरै जुवाडेलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।