• २६ पुस २०८१, शुक्रबार

मुस्लिम अगुवाले टीका लगाएर मनाए तिहार

blog

टीका लगाएर तिहार मनाउदै मुस्लिम अगुवा। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगगन्ज, कात्तिक १८ गते। सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाले हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन्।

दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला लगाएर इस्लाम धर्मावलम्बीका अगुवाले तिहार मनाएका हुन्।

१८ वर्षदेखि टीका लगाउँदै आउनुभएका समाजसेवी प्रवेज अली सिद्धिकीले बहिनी मीना तुलाधर र दिदी माया थापासँग टीका ग्रहण गर्नुभएको छ।

एक अर्को धर्मप्रति सम्मान गर्ने सोचको विकास गर्न टीका लगाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले दसैं तिहार जस्ता पर्व मनाउँदा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध अझ सुमधुर हुन्छ।” तिहारमा हिन्दू समुदायजस्तै टीका माला लगाउँदा थप उत्साह र उमङ्ग छाउने गरेको मुस्लिम अगुवा सिद्धिकीको भनाइ छ।

अर्का मुस्लिम अगुवा नेपालगगन्जका वरिष्ठ व्यवसायी अब्दुल वाहिद मन्सुरीले हिन्दु बहिनीसँग टीका लगाएर तिहार मनाउनुभएको छ। 

उहाँले आफूले हरेक वर्ष यसैगरी यो पर्व मनाउने गरेको बताउनुभयो। नेपालगन्जमा हिन्दू धर्मावलम्बी  इस्लाम धर्मावलम्बीको पर्वमा सहभागी हुँदै आएका छन् भने मुस्लिमले हिन्दुको पर्वमा खुशी बाँड्दै आएका छन्। 

दुबै समुदायले एक अर्कालाई शुभकामना आदानप्रदान गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सघाउँदै आएका छन्।