विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक १६ गते । चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीको निगरानीबाट छलिन र नयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका लागुऔषध कारोबारीहरूले पछिल्लो समयमा मलद्वारभित्र लागुऔषध लुकाएर ल्याउने गरेको पाइएको छ ।
यसैक्रममा झापाको शिवसताक्षी नगरपालिकाका छविलाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति साढे ८ बजेतिर काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर काँकडभिट्टातर्फ आउँदै गरेका शिवसताक्षी वडा ८ बस्ने ३८ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
शङ्कास्पद गतिविधि गरेको देखेपछि प्रहरीले जाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।