सन्तोष सुवेदी
पाख्रीबास, असार ९ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, स्थित ढुङ्गेमा एक जना पुरुष मृत भेटिएका छन् । स्थानीय एक घरमा भाडामा बस्दै आएका पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका हन् ।
मृत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका–११ वस्ने ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर हुनुहुन्छ । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिई बस्दै आएका मगर सोमबार बिहान सुतेकै अवस्थामा करिब साढे ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
प्रहरी प्रवक्त खनालका अनुसार मृत भेटिएका मगर भेडेटारस्थित आहाले महाभारत भित्री सडक खण्डमा मजदुरी काम गर्दै आएका थिए । मृत भेटिएका मगरको कसरी मृत्यु भयो थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उक्त शवलाई आवश्यक कागजात पूरा गरी पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।